२ किलो बढी अवैध चाँदीको गहनासहित एक पक्राउ

साउन १४, नेपालगञ्ज । बाँके प्रहरीले भारतबाट अवैध रूपमा नेपाल ल्याइएको ठूलो मात्रामा चाँदीको गहनासहित एक जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा सोमबार साँझ नेपालगञ्ज उपमहानगरपालिका–८ टाँगास्टेसन नजिकबाट पाँच किलो ४९५ ग्राम शंकास्पद चाँदीका गहनासहित सुभाष गुप्तालाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए ।
null
उनका अनुसार, गुप्तालाई जाँचका क्रममा झोलाबाट गरगहना फेला पारेपछि सुनचाँदी व्यवसायी सङ्घ बाँकेमा परीक्षण गरिएको थियो ।
पाँच किलो ४९५ ग्राम धातुमध्ये परीक्षणपछि दुई किलो ७१७ ग्राम ५०० मिलीग्राम चाँदी रहेको पुष्टि भएको छ ।
उक्त चाँदीको नेपाली मूल्य एक लाख ७१ हजार २४१ हुने बताइएको छ ।
गुलरिया नगरपालिका–६ बर्दियाका ३१ वर्षीय गुप्ता नेपालगञ्जको देवाफूलबारीमा कोठा भाडामा बस्दै आएका थिए ।
भारतबाट अवैधरूपमा नेपालगञ्ज ल्याएर सङ्कलन गरिएका चाँदीका गहना बर्दिया लैजाने क्रममा नेपालगञ्जको टाँगास्टेशन नजिकबाट प्रहरीले गुप्तालाई नियन्त्रणमा लिएको हो ।
गुप्तालाई चाँदीसहित आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक वलीले जानकारी दिएका छन्। –रासस








