विनोद भण्डारीको अर्धशतकमा मलेसियालाई विशाल लक्ष्य

काठमाडौं, २९ असार । विनोद भण्डारीको उत्कृष्ट अर्धशतकीय पारीको मद्दतले नेपालले टि–२० अन्तर्राष्ट्रिय सिरिज क्रिकेटको अन्तिम खेलमा मलेसियालाई जितका लागि १ सय ७४ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन जोडेको हो ।नेपालका लागि शरद भेसवाकरले ४० रनको पारी खेले । मध्यम सुरुवात गरेको नेपालका लागि शरदले २८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४० रन जोडका हुन् । ४.५ ओभरमा ३४ रन पुग्दा पहिलो विकेटको रुपमा पवन सराफलाई गुमाएको नेपालले छैठौं ओभरमा दोस्रो र तेस्रो बलमा उपकप्तान ज्ञानेन्द्र मल्ल र कप्तान पारस खड्कालाई गुमाएको थियो ।पवन १० रनमा आउट हुँदा मल्लले ७ र पारसले २३ रन जोडे । त्यस्तै चौथो विकेटको रुपमा रोहित कुमार पौडेलले १९ रन जोड्दा करन केसीले १६ रन जोडे । विनोद भण्डारीले आक्रमक ५१ रनको अर्धशतकीय पारी खेले ।उनले २५ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ५१ रनको अविजित पारी खेलेका हुन् । त्यस्तै सोमपाल कामी रनमा १ अविजित रहे । मलेसियाका लागि फित्री शामले तीन विकेट लिए । त्यस्तै सयेद अजिज र शर्भिन मुनियान्दीले एक एक विकेट लिए ।








