सौराहा क्षेत्रमा हात्ती आतंकः स्थानीय भन्छन्– ‘घरमा बस्ने अवस्था छैन’

 

साउन ३, चितवन । चितवनको पर्यटकीय क्षेत्र सौराहामा जंगली हात्तीले वितण्डा मच्चाउने क्रम बढेको छ । 

रोनाल्डो नामको जंगली हात्तीले रत्ननगर वडा नम्वर ६ र ७ मान्छे मार्ने, घर भत्काउने, खाद्यान्न खाने गरेको छ । जसका कारण यस क्षेत्रका स्थानीय त्रासमा रात काट्न बाध्य छन् । 

null

हात्तीले घर भत्काउँदा आफुहरु टुलुटुल हेरेर बस्न वाध्य भएको स्थानीय बताउँछन् । 

‘जंगली हात्तीको अगाडी हामीले केही गर्न सक्दैनौँ । घर भत्काएको हेरेर बस्नुको विकल्प छैन्, हात्ती नियन्त्रणका लागि निकुञ्जको ध्यान जाओस्’, रत्ननगर–६ का जंगली हात्ती पीडित विक्रम चौधरीले भने । चौधरीको घर भत्काएर हात्तीले बिहीबार बिहान उनको घरको धान खाइदिएको थियो । 

असार ३१ गते रत्ननगर ७ वोद्रेनीमा सोही हात्तीले एक पुरुषलाई आक्रमण गरि मारेको थियो । त्यस दिनयता प्रत्येक रात वस्तीमा प्रवेश गरि स्थानीयको घर भत्काउने, होटलका कोठा भत्काउने, घर नै भत्काएर धान खाई रहेको संरक्षणकर्मी वासु विडारीले बताए । 

शुक्रबार विहान जंगली हात्तीले सौराहामा रहेको चितवन गैडा लजको पाँच वटा कोठामा सामान्य क्षती पुर्याएको छ भने चिल्याक्स हाउसको भान्छा कोठा र डायनिङ कोठा भत्काएको संरक्षणकर्मी विडारीले जानकारी दिए । 

 

चितवन गैडा लजमा २ दिन अघि रेस्टुरेन्टमा क्षती पुर्याएको थियो । असार ३१ गते वडा नं ७ बोद्रहनीका ६२ बर्षिय कान्छो दराईलाई आक्रमण गरी मारेको सो हात्तीले सोही दिन वडा नम्वर ६ बछौलीको कालुपाध्य पौडेलको घर भत्काउनुका साथै सोही ठाउँकी कलावती सापकोटाको घरमा आक्रमणको प्रयास गरेको थियो । 

‘राती ९ बजेदेखि नै हात्ती वस्ती प्रवेश गर्छ । हात्तीकै कारण घरमा वस्ने अवस्था छैन्,यस क्षेत्रका हामी त्रासमा रात काटिरहेका छौँ’, सापकोटा भन्छिन् । 

हात्ती पछिल्लो पटक असार ३१ गतेदेखि बस्तीमा प्रवेश गर्न थालेको हो । त्यो दिनदेखि निरन्तर हात्ती आइरहेको छ । झुप्रा घर भएकाहरु घरमा बस्नै नसक्ने अबस्था रहेको स्थानीयको दुखेसो छ । बेलुका ८, ९ बजेदेखि नै हात्ती बस्ती प्रवेश गर्न थालेपछि स्थानीय हिँड्डुल गर्न छाडेका छन् । 

हात्ती मातेर वस्ती प्रवेश गरी घर भत्काउने, खाद्यान्न खाने गरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । आतंक मच्चाउने हात्तीलाई नियन्त्रणको प्रयास स्वरुप डार्क गरिएको निकुञ्जका सुचना अधिकारी गोपाल घिमिरेले जानकारी दिए । 

निकुञ्ज र वस्तीको सिमाना खुल्ला रहेका कारण सहजै जंगली जनावर वस्ती पस्ने गरेको छ । जंगली हात्तीको आक्रमणमा मात्रै गत आर्थिक वर्षमा ७ जनाको ज्यान गएको निकुञ्जको तथ्यांक छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *