भोटेकोसीले घर र पुल बगायो, स्थानीयको भागभाग

सिन्धुपाल्चोक । शनिबार बेलुकी अविरल वर्षात्ले उर्लिएको हृयाङ्ले खोलाले भोटेकोसी गाउँपालिकाको मार्मिङ चाकुमा एक घर र साँघु बगाएको छ । बाढीले कोदारी राजमार्गछेउको चाकु हृयाङ्लेगाउँस्थित घर, चाकु बजार वारपार गर्ने पुल एकैपटकमा बगाएको हो । ‘हृयाङ्ले खोला बढेपछि साँघु पुल, घर वरिपरिको संरचना ध्वस्त बनायो, भोटेकोसी बाढीले तटीय क्षेत्रको घरमा क्षति पुर्याएको छ, हाम्रो त भागाभाग भयो,’ भोटेकोसी गाउँपालिका मार्मिङ चाकु बजारकी बिना श्रेष्ठले भनिन् ।
त्रासले रातभर जाग्रम बसेको उनले सुनाइन् । ‘कोसी तटिय क्षेत्रमा सबैतिर त्रास फैलिएको छ, के गर्ने नगर्नेमा पुगेका छौं,’ उनले भनिन् । मध्य भोटेकोसी जलविद्युत् आयोजनास्थलको हेर्डवक्सस्थल, टावर, एक्जाभेटर, टिप्पपर जस्ता साधन, माथिल्लो भोटेकोसीको बाधस्थल संरचनादेखि शिवश्री हाइड्रो पावर, चाकु हाइड्रो अधिकांश संरचना बाढीले ध्वस्त तुल्याएको छ । ‘चाकु, दसकिलोदेखि सीमावर्ती क्षेत्रसम्म बाढीको त्राहीमाम मच्चिएको छ, बर्खाले गर्दा कतिपय सामग्री बाँधेर राजधानी फर्किने भएका छन्,’ स्थानीय होमनाथ ढकालले भने ।
null
उनका अनुसार अघिल्लो बर्खामा भोटेकोसीको बाढीको मच्चाएको वितण्डा सम्झेर स्थानीय दैव भरोसामा बाँचिरहेका छन् । ०७१ जुरेपहिरो, ०७२ भूकम्प,२०७३ असार २१ भोटेकोसी बाढीदेखि बर्खैपिच्छै पहिरोको त्रासमा जिल्लावासी छन् । ‘कोसी तटीयक्षेत्रमा बर्खामा के हुने हो भनेर तयार रहनुपर्छ, यो समस्या कहिले नबदलिने भयो,’ भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले भने ।
आयोजनामा २ कर्मचारी हराएको शंका भेलले बगाएर भोटेकोसी गाउँपालिकाको फुल्पिङकट्टीमा निर्माणाधीन शिवश्री जलविद्युत् आयोजनामा कार्यरत २ कर्मचारी बेपत्ताको शंका गरिएको छ । ‘त्यही विषयमा सत्यतथ्य बुझ्न स्थलगत अनुसन्धानमा जाँदैछौं, जेपनि हुन सक्छ, चाकु, दसकिलोदेखि फुल्पिङकट्टीसम्म भएको सम्पूर्ण विवरण त्यसपछि आउनेछ,’ इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक यादव थापा क्षेत्रीले भने । तटीय क्षेत्रमा हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै सबैलाई सुरक्षा सर्तकता अपनाउन सूचना दिइएको उनले सुनाए । आजको कान्तिपुर दैनिकमा अनिश तिवारीले लेखेका छन् ।








