निर्णायक खेलमा इङ्ल्यान्डको शानदार जित, न्युजिल्यान्ड पराजित

एजेन्सी । घरेलु टोली इंग्ल्यान्ड एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डले बुधबार राती न्युजिल्यान्डलाई १ सय १९ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । न्युजिल्यान्डको भविष्य भने शुक्रबार हुने पाकिस्तान र बंगलादेशको खेलको नतिजामा निर्भर रहने छ । ३ सय ६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४५ ओभरमा अल आउट हुँदै १ सय ८६ रनमा समेटियो । 

न्युजिल्यान्डका लागि विकेटकीपर टम लेथमले सर्वाधिक ५७ रनको योगदान दिए । लियाम प्लन्केटको ३९ औं ओभरको तेस्रो बलमा विकेटकीपर जस बटलरबाट सहज क्याच आउट हुनुअघि लेथमले ६५ बलमा ५ चौका प्रहार गरे । न्युजिल्यान्डले पहिलो ओभरको पाँचौ बलमा ओपनर हेनरी निकोलसलाई शुन्यमा गुमाएको थियो । उनलाई क्रिस वोक्सले एलवी डब्लू आउट गरे । जोफ्रा आर्चरको छैटौं ओभरको दोस्रो बलमा बटलरले डाईभ हान्दै एक हातले उत्कृष्ट क्याच लिएपछि अर्का ओपनर मार्टिन गुप्टिल ८ रनमा आउट भए । 

 

null

१६ ओभरको पहिलो बलमा कप्तान केन विलियमसन २७ रनमा रन आउट हुनु न्युजिल्यान्डको लागि दुभाग्य सावित बन्यो । लगत्तै १७ ओभरको चौथो बलमा अनुभवी ब्याट्सम्यान रोस टेलर २८ रनमा रन आउट भएपछि न्युजिल्यान्डको जित टाढिएको थियो । जेम्श निशम १९ र कोलिन डी ग्राण्डहोम ३ रनमा क्याच आउट भएपछि न्युजिल्यान्डको जितको संभावना लगभग सकिएको थियो । मिचेल सान्टनार १२, टिम साउथी र म्याट हेनरीले समान ७ रनको योगदान दिए । इंग्ल्यान्डको जितमा मार्क उडले ९ ओभरमा ३४ रन खर्चेर ३ विकेट हात पारे । 

त्यस्तै क्रिस वोक्स, जोफ्रा आर्चर, लियाम प्लन्केट, बेन स्टोक्स र आदिल राशिदले समान १ विकेट हात पारे । त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय ५ रन बनाएको थियो । इंग्ल्यान्डका लागि ओपनर जोनी बेयरस्टोले १ सय ६ रनको उत्कृष्ट शतकीय योगदान दिए । ३२ ओभरको चौथो बलमा म्याट हेनरीले बोल्ड आउट गर्नु बेयरस्टोले ९९ बलमा १५ चौका र १ छक्का प्रहार गरे । बेयरस्टोले ९५ बलमा आफ्नो वान डे करिअरको नवौं तथा जारी विश्वकपमा दोस्रो शतक पुरा गरे । 

बेयरस्टोले यस अघि भारतसँगको खेलमा पनि शतक प्रहार गरेका थिए । विश्वकपका लगातार खेलमा शतक प्रहार गर्ने उनी इंग्ल्यान्डका पहिलो खेलाडी बने । ओपनर बेयरस्टोले पहिलो विकेटका लागि जोसन रोयसँग १ सय २३ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिएपनि मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यानले ठूलो इनिङ खेल्न नसक्दा विशाल योगफल बनाउन चुकेको हो । १९ ओभरको चौथो बलमा जेम्श निशमले मिचेल सान्टनारबाट क्याच आउट गराउनुअघि रोयले ६१ बलमा ८ चौका सहित ६० रन जोडे । 

ट्रेन्ट बोल्टले ३१ ओभरको पहिलो बलमा जो रुटलाई २४ रनमा क्याच आउट गराए । बोल्टले नै विकेटकीपर जस बटलरलाई ३५ ओभरको दोस्रो बलमा कप्तान केन विलियमसनबाट ११ रनमा क्याच आउट गराएपछि इंग्ल्यान्डको रनको गतिमा कमि आएको थियो । ४२ ओभरको अन्तिम बलमा ठूलो शट खेल्ने धुनमा बेन स्टोक्स बाउन्ड्रीलाई नजिकै ११ रनमा क्याच आउट हुन पुगे । कप्तान इओन मोर्गनले ४० बलमा ५ चौका प्रहार गर्दै ४२ रनको योगदान दिए । 

क्रिस वोक्स ४,आदिल राशिद १६ र लियाम प्लन्केटले १५ रनको योगदान दिए । न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्ट, म्याट हेनरी र जेम्श निशमले समान २ विकेट लिए । मिचेल सान्टनर र टिम साउथीको नाममा १/१ विकेट रह्यो । इंग्ल्यान्ड ९ खेलमा ६ मा जित र ३ मा हारका साथ १२ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । न्युजिल्यान्ड पनि ९ खेलमा ५ मा जित र ३ मा हारका साथ ११ अंक बटुल्दै चौथो स्थानमा छ । 

शुक्रबार पाकिस्तान र बंगलादेश भिड्ने छन् । पाकिस्तान पराजित भए न्युजिल्यान्ड स्वत सेमिफाइनलमा प्रवेश गर्ने छ । पाकिस्तान विजयी भए नेट रन रेटका आधारमा टुङ्गो लाग्ने छ । यद्यपि पाकिस्तानले असम्भव प्रायः नतिजा निकाले मात्र सेमिफाइनलमा प्रवेश गर्नेछ । अष्टेलिया र भारत यसअघिनै सेमिफाइनलमा पुगि सकेका छन् । भारत र अष्टेलियाको बाँकी एक एक खेलको नतिजाले सेमिफाइनलको समिकरण पुरा हुने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 19 =