क्लब डेजाभूका सञ्चालक श्रेष्ठ पक्राउ

साउन १४, काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित क्लब डेजाभुका सञ्चालक मनोज श्रेष्ठ पक्राउ परेका छन् ।
बैंकिङ कसुर र ठगीको मुद्दामा इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएपछि फरार रहेका श्रेष्ठ हङकङबाट क्याथे ड्रागनको उडानमा नेपाल आउने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेको महानगरीय प्रहरी परिसरका प्रमुख तथा एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।
null
पर्वत घर भई हाल ललितपुरको झम्सीखेल बस्दै आएका श्रेष्ठविरुद्ध अन्तराष्ट्रिय स्तरमा खोजतलासको लागि ०७५ माघ १५ गते डिफ्युजन नोटिस जारी भएको थियो । परिसरका अनुसार विश्वरामले श्रेष्ठविरुद्ध ०७५ पुस १३ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा बैंकिङ कसुरको जाहेरी दिएका थिए ।
डेजाभुको अध्यक्ष रहँदा कम्पनी मर्मत गर्न विश्वराम श्रेष्ठबाट उनले दुई करोड ऋण लिएका थिए । विश्वरामले रकम फिर्ता मागेपछि श्रेष्ठले दुई करोडको चेक दिए । तर चेक साट्न जाँदा बैंकमा रकम थिएन । रकम फिर्ता नगरी सम्पर्कविहिन भएको उनीमाथि आरोप छ । उनी फरार रहेपछि प्रहरीले उनको खोजी कार्य तीब्र रुपमा अघि बढाएको थियो ।








