‘मड्रिड डर्बी’मा रियलकाे लज्जास्पद हार, एथ्लेटिकोका काेस्टा एक्लेलै गरे ४ गाेल


एजेन्सी । रियल मड्रिड र एथ्लेटिको मड्रिड खेल्ने चर्चित खेल ‘मड्रिड डर्बी’मा एथ्लेटिकोले रियललाई लज्जास्पद हार चखाएको छ । प्रि–सिजनअन्तर्गत आज बिहान अमेरिकामा भएको इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा स्टार खेलाडीले भरिएको रियल लिग प्रतिस्पर्धी टिमसँग ७–३ को नमिठो हारको सिकार भएको हो ।
तनावपूर्ण खेलमा दुईटा रातो कार्ड झर्दा दोस्रो हाफमा दुवै टिम १०–१० खेलाडीमा सीमित भएका थिए । एथ्लेटिकोले पहिलो हाफमा ५ गोल गरेको थियो भने बाँकी गोल दोस्रो हाफमा हान्यो । उसका लागि डिएगो कोस्टा एक्लैले ४ गोल हाने ।
खेलको सुरुआतबाटै हाबी भएको एथ्लेटिकोका लागि मिनेटमै डिएगो कोस्टाले गोल गरेका थिए । त्यसपछि खेलको आठौं मिनेटमा जोआओ फेलिक्सले बक्स भित्रबाट सहजै गोल गरेका थिए । त्यसपछि १९औं मिनेटमा अल्भारो मोराटाको ठाउँमा मैदान छिरेका एन्जल कोरेराले गोल गरेर खेल ३–० बनाए । एथ्लेटिको त्यत्तिमै रोकिएन । खेलको २८औं मिनेटमा कोस्टाले व्यक्तिगत दोस्रो गोल गरे । त्यसपछि खेलको ४५औं मिनेटमा एथ्लेटिकोले पेनाल्टी पाएकोमा कोस्टाले नै गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरेपछि एथ्लेटिकोले पहिलो हाफमा ५–० को अग्रता फराकिलो अग्रता बनायो ।
null
त्यसपछि दोस्रो हाफमा पनि गोलको वर्षा भयो भने केही तनावपूर्ण दृश्य पनि देखिए । खेलको ५१औं मिनेटमा कोस्टाले व्यक्तिगत चौथो गोल हान्दा रियल ६–० ले पछि परेको थियो । तर, खेलको ५९औं मिनेटमा रियलका लागि नाचोले गोल गर्दै खेल ६–१ बनाए । उनले कर्नर किकमा आएको बललाई बक्स भित्रबाट बललाई गोलको दिशा दिएका थिए ।
त्यसपछि खेलको ६५औं मिनेटमा खेलमा तनावपूर्ण अवस्था आयो । रियलका ड्यानी कार्भाहाल र एथ्लेटिकोका कोस्टा खेलाडीमाथि फउल गरेको विषयमा विवाद गर्दै जुधेपछि रेफ्रीले दुवै खेलाडीलाई सोझै रातो कार्ड दिएका थिए । दुई समूह बीच घम्साघम्सी हुँदा बेन्चबाट खेलाडी र प्रशिक्षसमेत आएर छुटाउनु परेको थियो । रियलका कार्भाहालले विपक्षी खेलाडीमाथि फउल गरेपछि विवाद सुरु भएको थियो ।
दुवै टिम १० खेलाडीमा सीमित भएर खेलिरहेका बेला ७०औं मिनेटमा एथ्लेटिकोले सातौं गोल हान्यो । सो गोल भिटोलोले गरेका थिए । त्यसपछि खेलमा रियल ७–१ ले पनि रह्यो । तर, खेलको ८५औं मिनेटमा रियलले पेनाल्टी पायो । बक्समा रियलका खेलाडी नाचोलाई एथ्लेटिकोका खेलाडीले लडाएपछि पाएको पेनाल्टीमा बेन्जेमाले गोल गर्दै खेल खेल ७–२ बनाए ।
त्यसपछि खेलको ८९औं मिनेटमा रियलका लागि सब्सिच्युट खेलाडी जाभिएर हर्नान्डेजले गोल गर्दै गोलअन्तर ७–३ मा झारेका थिए ।
