कस्ले जित्ला मुख्यमन्त्री कप प्रदेश लिगको उपाधि, मोरङ र झापा भिड्दै

असार ३१, सुनसरी । मुख्यमन्त्री कप प्रदेश लिगको फाइनलमा मोरङको बेलबारी फुटबल क्लब र झापाको सैनिक युथ क्लबले तयारी पुरा गरेका छन् । धरान रंगशालामा मंगलबार दिउँसो ३ः३० बजे झापा र मोरङ मुख्यमन्त्री कपको फाइनलमा भिड्दैछन् । झापाका प्रशिक्षक प्रवेश कटुवालले जिल्ला लिग च्याम्पियन हुँदै आफुहरु मुख्यमन्त्री कपको फाइनल जित्न सक्षम रहेको दाबी गरे । उनले आफुहरुसँग स्तरीय खेलाडीहरु रहेको र सबै खेलाडी फर्ममा रहेकोले प्रतियोगिता जित्न गाह्रो नहुने समेत दाबी गरे । 

 

त्यस्तै, बेलबारी फुटबल क्लबका सहायक प्रशिक्षक सुनिल पोखरेलले आफुहरु धेरै अगाडीदेखि फुटबलमा राम्रो गर्दै गइरहेको भन्दै यसपटकको फाइनलमा झापालाई पराजित गरी उपाधी रक्षा गर्ने बताए । उनले आफ्नो टिममा बि डिभिजन खेलेका खेलाडीहरु र नव प्रतिभावान खेलाडी भएकोले फाइनल जित्नेमा ढुक्क रहेको बताए । 

null

मुख्यमन्त्री कप प्रदेश लिगमा एक नं प्रदेशका १४ जिल्लाका जिल्ला च्याम्पियन क्लबको सहभागीता रहेको छ । पहिलो चरणमा धरान, इलाम र उदयपुर गरी तीन क्षेत्र छुट्याएर प्रतियोगिता गराइएको थियो । तीन क्षेत्रका उत्कृष्ट २ टिम गरी ६ टिमले फाइनल चरणमा प्रतिष्पर्धा गरेका थिए । फाइनल चरणमा सुनसरी, धनकुटा र मोरङलाई एक समुह र झापा, इलाम र खोटाङलाई अर्को समुह बनाएर लिग खेलाइएको थियो । 

 

एका तर्फको समुह विजेता झापाले खोटाङलाई ६–३ गोल अन्तर र इलामलाई ३–१ गोल अन्तरले पराजित गरी फाइनल यात्रा तय गरेको थियो । अर्को तर्फको समुह विजेता मोरङले धनकुटालाई ६–१ गोल अन्तर र सुनसरीलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । 

फाइनलको विजेताले ४ केजी चाँदीको रनिङ ट्रफिका साथै ५ लाख नगद पुरस्कार प्राप्त गर्ने छ भने उपविजेताले ३ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै गरी फाइनल चरण खेल्ने ४ टिमलाई ७५ हजारका दरले सान्त्वना पुरस्कार दिइने आयोजक समिति सदस्य तथा एन्फाका सहायक महासचिव बसन्त अर्यालले बताए । 

उनका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १ लाख नगद पुरस्कार प्रदान गरिने छ । त्यस्तै, फाइनल खेलको म्यान अफ द म्याचलाई १० हजार, प्रतियोगिताको विधागत उत्कृष्टलाई २५ हजारका दरले पुरस्कार वितरण गरिनेछ । प्रतियोगिताको विजेताले अन्तरप्रदेश फुटबल प्रतियोगिता खेल्ने र अन्तरप्रदेशको उत्कृष्ट ४ टिमले राष्ट्रिय लिग खेल्ने आयोजकले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eighteen =