भान्साबाटै फोहर वर्गीकरण गरिने

 

असार २५, काठमाडौँ । महानगरपालिकाले फोहरको वर्गीकरणको शुरुआत भान्साबाट गर्न स्थानीयवासीलाई सचेतना अभियान शुरु गरेको छ । भान्साबाटै फोहरको वर्गीकरण गर्दा फाल्ने फोहरको उत्पादन कम हुने भन्दै महानगरको वातावरण विभागले वर्गीकरण शुरु गर्न लागेको हो । 

कामनपाको वडा नं १८, २०, २१ र २३ बाट यो अभियानको शुरु गर्न लागिएको विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए । उनका अनुसार यो अभियानलाई लक्षित गरेर झण्डै एक हजार ५०० स्वयंसेवक परिचालनको योजनासमेत बनाइएको छ । शुरुमा प्रत्येक घरमा गएर कुहिने फोहर के हो, नकुहिने फोहर के हो भन्ने बुझाइनेछ । स्थानीयवासीमा सबै फोहर एउटै सम्झेर फाल्दा फोहरको परिमाण बढिरहेको उनले बताए । 

null

‘फोहरको वर्गीकरण हुन नसक्दा एकातिर हामीले चाहिने कुरासमेत फोहर नै सम्झेर फालिरहेका छौँ’, उनले भने, ‘अर्कातिर फोहरको परिमाण धेरै हुँदा महानगरलाई व्यवस्थापन गर्नसमेत गाह्रो भइरहेको छ ।’ स्थानीयवासीलाई फोहरको वर्गीकरणसम्बन्धी ज्ञान दिएसँगै महानगरले कुहिने र नकुहिने फोहरका लागि छुट्टाछुट्टै गाडीको व्यवस्थापन गर्दैछ । 

कुहिने फोहरबाट प्राङ्गारिक मल बनाउने र नकुहिने फोहरमध्ये कागज, प्लाष्टिक सामान लिन आउनेलाई बिक्री गरी बाँकी रहेका मात्रै गाडीमा पठाउँदा फोहरको परिमाण कम हुनेछ । उनले भने, ‘पहिले चार वडाका बासिन्दालाई सचेत बनाएपछि यो कार्यक्रम अन्य वडामा पनि विस्तार गर्ने योजना छ ।’ 

हाल काठमाडौँ उपत्यकाबाट दैनिक करीब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करीब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *