बुमराहको चार विकेट लिएपछि भारत विजयी, बंगलादेश बाहिरियो

एजेन्सी । भारत एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । मंगलबार राती बंगलादेशलाई २८ रनले पराजित गर्दै भारत सेमिफाईनलमा प्रवेश गरेको हो । यो हारसँगै बंगलादेश भने प्रतियोगिताबाटै बाहिरिएको छ । ३ सय १५ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेश ४८ ओभरमा अल आउट हुँदै २ सय ८६ रनमा समेटियो । बंगलादेशका लागि सकीब अल हसनले सर्वाधिक ६६ रनको योगदान दिए । ३४ ओभरको पाँचौ बलमा हार्दिक पान्ड्याले दिनेश कात्तिकबाट क्याच आउट गराउनु अघि सकीबले ७४ बलमा ६ चौका प्रहार गरे । 

 

बंगलादेशले दशौं ओभरको तेस्रो बलमा तामिम इकवाललाई २२ रनमा गुमाएको थियो । उनलाई मोहम्मद सामीले बोल्ड आउट गरे । हार्दिक पान्ड्याले १६ ओभरको पहिलो बलमा अर्का ओपनर सौम्य सरकारलाई ३३ रनमा पेभिलिएन फर्काए । विराट कोहलीबाट क्याच आउट हुनुअघि सरकारले ३८ बलमा ४ चौका प्रहार गरे । बंगलादेशले निरन्तर विकेट गुमाउँदै गयो । युजभेन्द्र चहलले विकेटकीपर मुश्फिकुर रहिमलाई २४ रनमा सामीबाट क्याच आउट गराए । हार्दिक पान्ड्याले लिटन दासलाई २२ रनमा क्याच आउट गराएपछि बंगलादेशको जितको संभावना टाढिएको थियो । 

null

३३ ओभरको दोस्रो बलमा जसप्रित बुमराहले मोसाद्धेक हसनलाई ३ रनमा बोल्ड आउट गर्दै भारतको दबदबा कायमै राखे । तल्लोक्रमका शब्बिर रहमान र मोहम्मद सैफुद्दीनले सातौ विकेटका लागि उत्कृष्ट ६६ रनको साझेदारी गर्दै पुन जितको संभावना देखाएका थिए । तर जसप्रित बुमराहले ४४ ओभरको पहिलो बलमा शब्बिरलाई ३६ रनमा बोल्ड आउट गरेपछि भारत खेलमा फर्किएको थियो । शब्बिरले ३६ बलमा ५ चौका प्रहार गरे । मोहम्मद सैफुद्दीन ३८ बलमा ९ चौका सहित ५१ रनमा अविजित रहेपनि टोलीको हार टार्न सकेनन् । 

भारतका लागि जसप्रित बुमराहले १० ओभरमा १ मेडन सहित ५५ रन खर्चर ४ विकेट लिए । हार्दिक पान्ड्याले १० ओभरमा ६० रन खर्चेर ३ विकेट लिए । त्यस्तै मोहम्मद शामी, भुवनेश्वर कुमार र युजभेन्द्र चहलको नाममा १ विकेट रह्यो । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय १४ रन बनाएको थियो । भारतका लागि ओपनर रोहित शर्माले १ सय ४ रनको उत्कृष्ट शतकीय योगदान दिए । 

३० ओभरको दोस्रो बलमा सौम्य सरकारले लिटन दासबाट क्याच आउट गराउनु अघि रोहितले ९२ बलमा ७ चौका र ५ छक्का प्रहार गरे । रोहितको जारी विश्वकपमा यो चौथो शतक हो । त्यस्तै रोहितको वान डे करियरको भने यो २६ औं शतक हो । पहिलो विकेटका लागि ओपनर रोहित र लोकेश राहुलले १ सय ८० रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै विशाल योगफलतर्फ लम्काएका थिए । ३३ ओभरको चौथो बलमा रुवेल हसनले मुश्फिकुर रहिमबाट क्याच आउट गराउनु अघि राहुलले ९२ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ७७ रनको योगदान दिए । 

त्यस्तै कप्तान विराट कोहलीले २७ बलमा ३ चौका सहित २६ रन जोडे । विराटलाई ३९ ओभरको दोस्रो बलमा मुस्ताफिजुर रहमानले रुवेल हसनबाट क्याच आउट गराए । ऋषभ पन्तले ४१ बलमा ६ चौका र १ छक्का सहित ४८ रनको योगदान दिए । हार्दिक पान्ड्या डक आउट भए । महेन्द्रसिंह धोनी ३३ बलमा ४ चौका सहित रनमा ३५ मा क्याच आउट भए । दिनेश कात्तिक ८ र भुवनेश्वर कुमार २, र मोहम्मद सामीले १ रनको योगदान दिए । 

बंगलादेशका लागि मुस्ताफिजुर रहमानले १० ओभरमा १ मेडन सहित ५९ रन खर्चेर ५ विकेट हात पारे । त्यस्तै सकीब अल हसन, सौम्य सरकार र रुबेल हसनको नाममा समान १ विकेट रह्यो । यो जितसँगै भारत ८ खेलमा ६ मा जित र १ मा हारका साथ १३ अंक जोड्दै दोस्रो स्थानमा छ । भारतले अन्तिम खेल श्रीलंकासँग ६ जुलाईमा खेल्ने छ । बंगलादेश ८ खेलमा ३ मा जित र ४ मा हारका साथ सातौं स्थानमा छ । बंगलादेशले अन्तिम खेल पाकिस्तानसँग ५ जुलाईमा खेल्ने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *