२५ देश हिँडेका भारतीय ‘बाईकिङ क्विन्स’ लाई काठमाडौंमा स्वागत

 

काठमाडौं, २४ जेठ । २५ देशको यात्रामा निस्किएका ‘बाईकिङ क्विन्स’ को नामले चिनिने तीन भारतीय महिला बाईकर्सहरुलाई काठमाडौंमा स्वागत तथा सम्मान गरिएको छ । ‘वुमेन्स प्राईड’ नामक सन्देश बोकेर उनीहरु तीन महादेशको यात्रामा निस्किएका हुन् । 

उक्त ग्रुपकी संस्थापक डा. सारिका मेहता र उनका साथीहरु बाईक राईडर्सद्धय जिनाल साह र रुतली पटेलले ९० दिनमा २५ राष्ट्रमा २५ हजार किलोमिटरको यात्रा गर्नेछन् । बुधबार भारतबाट सुरु भएको उक्त यात्रा लण्डनमा पुगेर समापन हुनेपनि उनीहरुले जानकारी दिए । उक्त यात्राको समापन भने आगामी अगष्टको २६ तारिखमा हुनेछ । 

null

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा उनीहरुको स्वागत तथा सम्मानमा देव भूमिको प्रायोजनमा वातावरण जिउने आधार र कर्मशिल समाज नेपालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले उनीहरुलाई साहसिक यात्राको लागि शुभकामना दिए । 

‘तपाईहरु महिला सशक्तिकरणको लागि महत्वपूर्ण सन्देश बोकेर यो साहसिक यात्रामा अघि बढ्नुभएको छ । यो पूरा विश्वको लागि नै गर्वको विषय हो ।’ मन्त्री विश्वकर्माले भने । 

कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् सांसद पुष्पा भुषाल, हिसानका अध्यक्ष रमेश सिलवाल, रिपोर्टर्स क्लब नेपालका ऋषि धमला, पत्रकारहरु हरिहर विरही, कविर राणा, दामोदर दवाडी र गंगादेवी थपलियाले उनीहरुलाई साहसिक यात्राको सफलताको लागि शुभकामना दिए । 

साहसिक यात्राको नेतृत्व गरेकी डा. मेहताले आफूहरुले पूरा यात्राको दौरान महिला सशक्तिकरणको सन्देश फैलाउने विश्वास गरिन् । उनीहरु बिहिबार मात्रै नेपाल आईपुगेका हुन् । 

उनीहरु तीनै जनाले अब म्यानमारको यात्रा गर्नेछन् । त्यसपछि थाईल्याण्ड, लाओस, चीन, किजकिस्तान, उजवेकस्तान, काजाखस्तान, रसिया, लाटभिया, लिथुनिया, बेलारुस, पोल्याण्ड, जर्मनी, अष्ट्रिया, फ्रान्स, मोरोक्को र अन्य देशहरुको यात्रा गर्ने कार्यक्रम छ । उनीहरुले प्रत्येक दिन ५ सय किलोमिटरको यात्रा गर्नेछन् । 

मेहताले आफूहरु यात्राको दौरान आईपर्ने जस्तोसुकै चूनौतिहरुको पनि सामना गर्न तयार रहेको सुनाईन् । ‘हामी सुरक्षित रुपमा फर्कने विश्वासका साथ अघि बढेका छौं ।’ उनले भनिन् । आफूहरुले यो यात्राको लागि एक वर्षदेखि तयारी गरेको पनि उनले जनाईन् । 

उनीहरुले भारत सरकारको ‘बेटी बचाओ, बेटी पढाओ’ अभियानको पनि सन्देश विश्वभरि फैलाउने उद्देश्यसहित यो साहसिक यात्रा गर्नेछन् । डा. मेहताकाअनुसार उनीहरुले सन् २०१६ मा पनि विभिन्न दश देशको भ्रमण गरिसकेका छन् । त्यतिवेला उनीहरुले भारतबाट यात्रा सुरु गरेर श्रीलंकामा पुगी समापन गरेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =