मेलम्चीको ठेक्का आह्वान, ११ महिनामा पानी आउने

काठमाडौ ५ असार । खानेपानी तथा सरसफाइ मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको सुरुङसहित बाँकी निर्माणको काम गर्न ठेक्का आहवान गरेको छ । करिब ६ महिनादेखि ठप्प रहेको आयोजनाको काम अघि बढाउन ठेक्का आहवान गरिएको हो । मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माका अनुसार १० वटा प्याकेजमा टेन्डर आहवान गरिएको छ । ‘व्ययभार नबढ्ने गरी टेन्डर आहवान गरेका छौं,’ उनले भने, ‘चाँडै सबै प्रक्रिया पुर्‍याएर काम अघि बढाउँछौं ।’ 

सचिव शर्माका अनुसार मेलम्चीको बाँकी कामलाई मुख्य दुइटा प्याकेजमा विभाजन गरिएको छ । त्यसभित्र ससाना गरी १० वटा प्याकेजमा बाँडिएको छ । पहिलो प्याकेजभित्र हेड वर्क्सअन्तर्गतको ड्याम निर्माण, पुल निर्माणलगायत छन् भने दोस्रो प्याकेजमा सुरुङभित्रको फिनिसिङ, गेट, भेन्टिलेटरलगायत निर्माण कार्य छन् । विभिन्न प्याकेजमा काम गर्दा करिब ११ महिनाभित्र पानी उपत्यकामा ल्याउन सकिने सचिव शर्माले बताए । सुरुङलगायतका काम सम्पन्न गर्न करिब २ अर्ब ५२ करोड रुपैयाँ लाग्ने आयोजनाको अनुमान छ । 

 

null

इटालियन कम्पनी सीएमसीले ठेक्का सम्झौता तोडेपछि करिब एक महिनाअघि सरकारले स्थानीय ठेकेदारलाई परिचालन गरी मेलम्ची आयोजनाको काम सम्पन्न गर्ने निर्णय गरेको थियो । सरकारले बाँकी काम सीएमसीद्वारा नै गराउने प्रयास गरे पनि २ अर्ब ५२ करोड दिएर पुनः १ अर्ब दिनुपर्ने माग राखेपछि स्थानीय ठेकेदारलाई परिचालन गरेर काम अघि बढाउन लागिएको हो ।गत पुसमा सीएमसीले आफू आर्थिक रूपमा ‘टाट पल्टेको’ घोषणा गर्दै काम छाडेपछि बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको काम ठप्प छ । 

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी उपत्यकामा ल्याउने खानेपानी मन्त्रालयको लक्ष्य छ । सुरुङ निर्माणको काम अघि बढ्ने भएपछि एसियाली विकास बैंक (एडीबी) याङ्ग्री र लार्के सुरुङलगायत अन्य संरचनामा लगानी गर्न इच्छुक भएको शर्माले बताए । काम अघि नबढेसम्म याङ्ग्री र लार्केमा लगानी गर्न एडीबी यसअघि इच्छुक थिएन । ‘अब सबै काम सहज भएको छ,’ सचिव शर्माले भने, ‘मेलम्चीअन्तर्गतका सबै काम तीव्रताका साथ अघि बढ्छन्, कुनै किसिमको अवरोध नआए समयमै पानी उपत्यकामा आउँछ ।’ 

परामर्शदाता कम्पनी इप्टिसाले याङ्ग्री र लार्केको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मेलम्ची खानेपानी आयोजनालाई बुझाइसकेको जानकारी शर्माले दिए । उनले डीपीआरअनुसार काम अघि बढाइने बताए । ‘अन्तर्राट्रिय विज्ञले यस विषयमा छलफल गरेर डीपीआरलाई अन्तिम रूप दिइएको छ,’ सचिव शर्माले भने । सिन्धुपाल्चोकको याङ्ग्री र लार्के खोलाबाट १७/१७ करोड लिटर पानी उपत्यकामा ल्याउने लक्ष्य आयोजनाको छ । यी खोलाबाट थप पानी आपूर्तिका लागि सुरुङको संरचना निर्माण सुरु भइरहेको ती अधिकारीले बताए । 

मेलम्चीदेखि लार्केबीच निर्माण गर्नुपर्ने सुरुङको लम्बाइ ११ किमि छ । मेलम्चीको अम्बाथान (हेडवर्क्स) बाट २ किलोमिटर पर लार्के खोला छ । लार्केबाट याङ्ग्रीको मुहानसम्म २ किलोमिटर सुरुङ बनाएर ल्याइने पानी सिधै मेलम्चीको हेडवर्क्स अम्बाथानमा मिसाइन्छ । तीनवटै खोला मेलम्ची, याङ्ग्री र लार्केबाट गरी दैनिक ५१ करोड लिटर पानी अम्बाथानदेखि २६ किलोमिटर टाढाको सुन्दरीजलमा सुरुङबाट ल्याइनेछ । कान्तिपुरबाट 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =