हुम्ला जिप दुर्घटना : शव नभेटिएपछि पुत्ला बनाएर दाहसंस्कार

काठमाडौं, ६ असार । कर्णाली नदीमा जिप खसेर बेपत्ता भएकाहरू तीन दिनसम्म पनि फेला नपरेपछि आफन्तले परालको पुत्ला बनाई दाहसंस्कार गरेका छन् । खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीसँगै ७ जनाको बिहीबार कर्णालीको खापुदोभान र प्युसनिवासी कौरा दमाई र दुई वर्षीय छोराको गोग्चेगौंडामा दाहसंस्कार गरिएको छ । 

‘तीन दिनसम्म खोज्दा लास भेटिने आस मरेपछि हिन्दु परम्पराअनुसार परालको पुत्ला बनाएर दाहसंस्कार गरेका छौं,’ खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले भने । गाउँपालिका उपाध्यक्षसहित सात स्थानीय गुमाएपछि खार्पुनाथमा शोक छाएको छ । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीसमेत स्तब्ध छन् । शोकमा गाउँपालिकाले १३ दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ । 

 

null

सबैका परिवारलाई जनही १० हजार रुपैयाँ किरिया खर्च दिइने अध्यक्ष रावलले जनाए । उनका अनुसार तेह्रौं दिन असार १६ गते गाउँपालिकामा श्रद्धाञ्जली सभा गरिनेछ । सम्पूर्ण सरकारी कार्यालय र विद्यालय बन्द गरिनेछन् । स्थानीय शोभा शाहीले उपाध्यक्षको निधनबाट गाउँपालिका र जिल्लाले ठूलो क्षति बेहोरेको बताइन् । ‘उहाँजस्तो मिलनसार र कुशल नेत्रीको अभाव सधैं खडकिरहनेछ,’ उनले भनिन्, ‘हामीलाई राजनीतिक र सामाजिक काममा प्रेरणा दिइरहने स्वभाव यहाँका महिलाले सम्झिरहनेछन् ।’ 

खोजी जारीदुर्घटनास्थलमा गोताखोरसँगै प्रहरी र जनप्रतिनिधिहरू बेपत्ताको खोजीमा जुटिरहेका छन् । जिल्लाका निमित्त प्रहरी प्रमुख राजेन्द्रबहादुर सिंहले दाहसंस्कार गरिए पनि खोजी जारी रहेको बताए ।बुधबार बिहान घटनास्थलभन्दा ३ किलोमिटर तल बक्च्यगौडा नदीको किनारमा उपाध्यक्ष शाहीको झोला भेटिएको थियो । झोलाभित्र केही नगद, चप्पल, नागरिकता, परिचयपत्र र लत्ताकपडा रहेको गाउँपालिका अध्यक्ष रावलले जानकारी दिए । उनका अनुसार घटनास्थलदेखि ४ किलोमिटर तल कारङखोलाको किनारमा जिप चालक मणिराज शाहीको पाइन्ट, मास्क र जुत्ता भेटिएको छ । 

यसैबीच दुर्घटनामा बेपत्ता हुनेको संख्या ११ पुगेको छ । सोही जिपमा नाम नखुलेका वेल्डिङ मास्टरका एक जना कुकसमेत रहेको खुलेको प्रहरीले जनाएको छ । निमित्त प्रजिअ महेशकुमार पोख्रेलले जिपमा कति जना थिए भन्ने यकिन नभएकोले संख्या बढ्न पनि सक्ने बताए । मंगलबार खार्पुनाथको बेडुबिसौना–जिउला सडकमा जिप २० मिटर तल कर्णाली नदीमा खसेको थियो ।आजको कान्तिपुर दैनिकमा छपाल लामाले लेखेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *