सरकारी लगानीमा बुढीगंगामा डोरीतान प्रतियोगिता हुँदै

जेठ २३, विराटनगर । डोरी तान खेल प्रतियोगिता पहिलो पटक सरकारी लगानीमा प्रदेश नम्बर १ को राजधानी विराटनगरसँग सिमा जोडिएको मोरङको बुढीगंगा गाउँपालिकामा आयोजना हुने भएको छ ।
प्रदेश सरकार सामाजिक मन्त्रालयले नेपालमै पहिलो पटक सरकारी लगानीबाट प्रतियोगिता आयोजना गरेको हो ।
null
प्रतियोगिता व्यवस्थापनको जिम्मेवारी पाएको मोरङ जिल्ला डोरी तान संघले बुढीगंगामा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश स्तरिय डोरी तान प्रतियोगिता गर्न लागेको जानकारी दिएको छ ।
आगामी जेठ २५ गते शनिबार हुने प्रतियोगितामा प्रदेश नं. १ अन्तर्गत ८ जिल्लाका ८८ जना खेलाडीहरुको सहभागीता रहने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमा मोरङ जिल्ला डोरी तान संघकी अध्यक्ष रीता न्यौपानेले प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिइन् । प्रतियोगितामा प्रदेश न. १ का झापा, मोरङ, सुनसरी, पाँचथर, सोलुखुम्बु, संखुवासभा, धनकुटा र भोजपुर जिल्ला सहभागी हुने न्यौपानेले जानकारी दिइन् ।
बुढीगंगा गाउँपालिका–१ स्थित नरग्राम माध्यामिक विद्यालयको खेल मैदानमा प्रतियोगिता हुनेछ ।
पत्रकार सम्मेलनमा नेपाल डेरी तान संघका केन्द्रीय उपाध्यक्ष सुभाष पोखरेलले पुरानो खेल मध्येको डण्डीबियो र डोरीतान नै नेपाली मौलिकता सँग जोडिएको खेल भएपनि राष्ट्रिय खेलकुद परिषद्का कारण ओझेललमा परेको बताए । उनले भने, ‘अहिले पनि राज्यको ध्यान डोरी तान खेलमा जान सकेको छैन । यसमा हामीलाई दुःख लागेको छ ।’
उनले हरेक राष्ट्रिय तथा प्रदेश स्तरीय खेल प्रतियोगिताहरुमा डोरीतान खेललाई अनिवार्य समेटन सरकारसँग माग गरे । नेपालमा १७ बर्ष अगाडी डोरी तान केन्द्रीय समिति बनाएर डोरी तान खेललाई व्यवसायीकता दिन खोजिएको भएपनि राखेपले २ बर्ष अगाडी मात्र समिति बनाएको पोखरेलले बताए ।
संघका केन्द्रीय सदस्य सत्यनारायण चौधरीले लोप हुन लागेको डोरीतान प्रतियोगितालाई प्रोत्साहन गर्ने काम प्रदेश १ सरकारबाट शुरु भएकोले अब प्रदेश स्तरको प्रतियोगिताले सो खेललाई स्थापित गराउनेमा आफु विस्वस्त रहेको बताए ।
उनले प्रतियोगितालाई देशभरी नै चिनाउने गरी डोरीतान संघले काम शुरु गर्ने बताए । अन्तराष्ट्रिय मापदण्ड अनुसार ६४० केजीकोे तौलमा प्रतियोगिता हुने जनाइएको छ । हरेक टिममा ८ जना खेलाडीका दरले खेलाडीहरु प्रतिस्पर्धामा उत्रिने छन् ।
विजेता तथा उपविजेताले क्रमश नगद ५० हजार, २५ हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै तेश्रो हुने टिमलाई समेत १५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरिने डोरीतान संघ बुढीगंगाका अध्यक्ष अशोक अधिकारीले जानकारी दिए ।
प्रतियोगितामा लाग्ने कुल खर्च मध्ये सामाजिक विकास मन्त्रालयले ८ लाख र मोरङ जिल्ला डोरीतान संघले ४७ हजार रुपैयाँ व्यहोर्ने छ । सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको प्रतियोगिताको समन्वय क्षेत्रीय खेलकुद विकास समितिले गरेको छ ।








