स्कुल बन्द गरेर बिहे भोज, प्रधानमन्त्रीका लागि नयाँ निवास

काठमाडौं, २९ जेठ । आज प्रकाशित दैनिक पत्रिकाहरुले फरक फरक विषयलाई आफ्नो प्राथमिकतामा राखेका छन् । कर्मचारी अभावको कारण देखाउँदै जिल्ला मालपोत कार्यालय, काभ्रेमा सुरक्षागार्डले लालपुर्जा बनाउने गरेको रोचक खबर कान्तिपुरमा छ । खुम्बु क्षेत्रका हिमनदीको पिँधको बरफमा अस्वाभाविक रुपमा तापक्रम बढी रहेको पाइएको खबर पनि कान्तिपुरमा छ । हिमनदीको २ सय मिटरसम्म प्वाल पारेर पहिलोपटक गरिएको अध्ययनबाट सगरमाथा आधार शिविरदेखि खुम्बु हिमनदी टर्मिनल मोरेनसम्मको तापक्रम माइनस ३.३ डिग्री सेल्सियस रहेको नयाँ तथ्य फेला परेको समाचारमा उल्लेख छ ।
अन्नपूर्णले स्कुल बन्द गरेर बिहे भोज गरिएको महोत्तरीको खबरलाई मुख्य समाचार बनाएर छापेको छ । जिल्लाको गौशाला नगरपालिका–१ स्थित श्री माध्यमिक विद्यालय निगौंलामा स्कुल बन्द गरेर बिहे भोज गरिएको हो । विद्यालय व्यवस्थापन समितिले बिहे भोजका लागि विद्यालयको स्थान उपलब्ध गराउने औपचारिक निर्णय नै गरेको समचारमा उल्लेख छ ।
null
नयाँ पत्रिका दैनिकले प्रधानमन्त्रीका लागि नयाँ निवास बनाउन लागिएकोबारे मुख्य समाचार लेखेको छ । बालुवाटारको अहिलेको संरचना भत्काएर २ वर्षभित्र नयाँ भवन बनाउने तयारी गरिएको हो । नयाँ पत्रिकाका अनुसार यसरी निर्माण गर्न लागिएको एउटा भवनमा प्रधानमन्त्रीको निजी निवास हुनेछ भने अर्को भवनमा भेटघाट र बैठक कक्ष हुनेछन् । यी नयाँ संरचना बन्न ४० करोड खर्च हुनेछ । निजी निवास एक रोपनी क्षेत्रफलमा बन्नेछ भने सार्वजनिक भवन २ रोपनी क्षेत्रफलमा हुनेछ । त्रिभुवन विश्वविद्यालयका स्ववियुको वैधानिकतामाथि पनि आजको नयाँ पत्रिकाले प्रश्न उठाएको छ ।
राजधानीले लोकसेवाको विज्ञापन नरोकिने संकेत देखिएको लेखेको छ भने गोरखापत्रमा प्रधानमन्त्रीको युरोप भ्रमणसँग सम्बन्धित सामग्रीले प्रमुखता पाएका छन् ।








