अर्जेन्टिना मेस्सीको गोलमा हारबाट जोगियो, पराग्वेले खेर फाल्यो पेनाल्टी

एजेन्सी । अर्जेन्टिना र पाराग्वेले बराबरी खेलेका छन् । कोपा अमेरिका २०१९ को समूह ‘बी’ अन्तर्गत खेलमा अर्जेन्टिना र पाराग्वेले १-१ को बराबरी खेलेका हुुन् । पहिलो हाफमा १-० ले पछाडी परेको अर्जेन्टिनाले दोस्रो हाफमा भीएआरको सहायतामा प्राप्त पेनाल्टीमा गोल गर्दै बराबरी खेलेको हो ।
पहिलो हाफको ३७ औं मिनेटमा रिचार्ड स्यान्चेजले गोल गर्दै पाराग्वेले अग्रता लिएको थियो । मिगुएल आल्मिरोले मिडफिल्डको मध्यभागबाट एक्लै बल अगाडी बढाएर दिएको क्रसमा स्यान्चेजले पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा गोल गरे । अर्जेन्टिनाले डिफेन्समा गल्ति गर्दा पाराग्वेले काउन्टर अट्याकमा गोल गर्ने अवसर सिर्जना गरेको थियो ।
null
त्यसअघि खेलको २८ औं मिनेटमा पनि पाराग्वेले गोल गर्ने सुवर्ण अवसर गुमाएको थियो । माटियास रोजासको प्रहारलाई डिफेन्डर निकोलस टाग्लियाफिकोले छेकेका थिए । पहिलो हाफको खेल अवधिभर कप्तान मेस्सीले प्रहार गरेको फ्रिकिक नै अर्जेन्टिनाको पोस्टमा गरेको एकमात्र आक्रमण थियो ।
दोस्रो हाफको ५७ मिनेटमा अर्जेन्टिनाले खेल बराबरीमा ल्यायो । कप्तान मेस्सीले भिडियो असिस्टेन्ट रेफ्री भीएआरको सहायतामा लिइएको पेनाल्टीमा गोल गरेका थिए । त्यसअघि मेस्सीकै हाफ भली प्रहार क्रसबारमा लागेर फर्केको थियो । उक्त भली पाराग्वेको डिफेन्डरको हातमा लागेको भिडियो रिप्लेमा देखिएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो ।
खेल बराबरीमा आएको ३ मिनेटमा नै पराग्वेले पेनाल्टी चुकाउँदा अग्रता लिने अवसर गुमायो । अर्जेन्टिनाका निकोलस ओटामेन्डीले पेनाल्टी क्षेत्रभित्र डेर्लिस गोन्जालेजलाई खराब ट्याकल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । तर, गोन्जालेजको प्रहार गोलरक्षक फ्रान्को अर्मानीले बचाएपछि खेल बराबरीमा सकिएको हो ।
यस बराबरीसँगै अर्जेन्टिना अंक तालिकाको पुछारमा नै अवस्थित छ । अब अर्जेन्टिनाले समूहको अन्तिम खेलमा कतारलाई पराजित गरेमात्र क्वाटरफाइनलमा प्रवेश गर्ने सम्भावना कायम रहनेछ । बराबरी वा पराजित भएको खण्डमा अर्जेन्टिना समूह चरणबाट नै बाहिरिनेछ । कोलोम्बिया २ खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा छ भने पाराग्वे २ खेलमा २ अंकसहित दोस्रो र कतार २ खेलमा १ अंकसहित तेस्रो स्थानमा छ ।








