दक्षिण अफ्रिकाविरुद न्युजिल्यान्डको रोमान्चक जित, विलियम्सनको शतक

एजेन्सी । कप्तान केन विलियम्सनले शतक प्रहार गरेपछि एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गरेको छ । रोमान्चक खेलमा अन्तिम ओभरमा न्युजिल्यान्डलाई जितको लागि ८ रन चाहिएको थियो । कप्तान विलियम्सनले एन्डिलो फहलुकवलोलाई दोस्रो बलमा छक्का र तेस्रो बलमा चौका प्रहार गर्दै टोलीको जित पक्का गरे । योसँगै न्युजिल्यान्ड अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । २ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४८.३ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो । 

न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले शतक प्रहार गरे । ४९ औं ओभरको दोस्रो बलमा छक्का प्रहार गर्दै उनले १ सय ३७ बलमा आफ्नो वान डे करियरको १२ औं शतक पुरा गरे । न्युजिल्यान्डको जितमा नायक बनेको विलियम्सनले १ सय ३८ बलमा ९ चौका र १ छक्का सहित १ सय ६ रनमा अविजित रहे । त्यस्तै, आक्रमक ब्याटिङ गरेका अलराउण्डर कोलिन डी ग्राण्डहोमले ४७ बलमा ५ चौका र २ छक्का सहित ६० रन बनाए । 

 

null

एक समय कमजोर अवस्थामा पुगेको न्युजिल्यान्डका ग्राडहोम र विलियम्सनले छैटौं विकेटका लागि ९१ रनको साझेदारी गर्दै जित सहज बनाएका थिए । ओपनर कोलिन मुनरो ९ रनमै आउट भए । उनलाई तेस्रो ओभरको पहिलो बलमा कागिसो रबाडाले आफैं क्याच लिदै पेभिलिएन फर्काएका थिए । १५ ओभरको अन्तिम बलमा हिट विकेटका रुपमा अर्का ओपनर मार्टिन गुप्टिल ३५ रनमा आउट भए । उनले ५९ बलमा ५ चौका प्रहार गरे । क्रिस मोरिसले रोश टेलर र टम लेथमलाई समान १ रनमा क्विन्टन डी ककबाट क्याच आउट गराएपछि न्युजिल्यान्ड संकटमा परेको थियो । 

जेम्श निशमले ३४ बलमा ३ चौका सहित २३ रन बटुले । दक्षिण अफ्रिका लागि क्रिस मोरिसले ३ विकेट हात पारे । कागिसो रबाडा,लुन्गी निडी र एन्डिलो फहवकुलोको नाममा समान १ विकेट रह्यो । त्यस अघि टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ४९ ओभरमा ६ विकेटको क्षतिमा २ सय ४१ रन बनायो । मैदान हिलो भएकाले केहि ढिला सुरु भएको खेल १ ओभर घटाएर ४९ मा झारिएको थियो । दक्षिण अफ्रिकाकालागि मध्यक्रमका रस्सि भान डर दुसेनले ६४ बलमा २ चौका र ३ छक्का सहित ६७ रनमा अविजित रहे । 

ओपनर हाशिम अमलाले ५५ रनको योगदान दिए । २८ ओभरको चौथो बलमा मिचेल सान्टनरले बोल्ड आउट गनुअघि अमलाले ८३ बलमा ४ चौका प्रहार गरे । दक्षिण अफ्रिकाले दोस्रो ओभरको पाँचौ बलमा ओपनर क्विन्टन डी ककलाई ब्यक्तिगत ५ रनमा गुमाएको थियो । डी ककलाई टेन्ट्र बोल्टले बोल्ड आउट गरे । फाफ डु प्लेसिसले २३ रन बटुले । १४ ओभरको अन्तिम बलमा ल्योकी फ्ग्र्युसनले बोल्ड आउट गर्नुअघि उनले ३५ बलमा ४ चौका प्रहार गरे । युवा ब्याट्सम्यान एडेन मार्करामले ५५ बलमा ४ चौका ३८ रन बटुले । 

पाँचौ विकेटका लागि रस्सि भार दुसेन र डेविड मिलरले ७२ रनको साझेदारी गर्दै दक्षिण अफ्रिकाको इनिङ केहि उकासेका थिए । डेविड मिलरले ३७ बलमा २ चौका र १ छक्का सहित ३६ रन जोडे । उनलाई फ्ग्र्युसनले ४५ ओभरको पाँचौ बलमा बोल्टबाट क्याच गराउँदै साझेदारी तोडे । त्यस्तै क्रिस मोरिसले ६ रन बटुले । न्युजिल्यान्डका लागि ल्योकी फ्ग्र्युसनले १० ओभरमा ५९ रन खर्चेर ३ विकेट लिए । टेन्ट्र बोल्ट,कोलिन डी ग्राण्डहोम र मिचेल सास्टनरले समान १ विकेट हात पारे ।योसँगै न्युजिल्याड ५ खेलमा ४ मा जित सहित ९ अंक बटुल्दै शीर्ष स्थानमा उक्लिएको छ । 

न्युजिल्यान्डले आफ्नो छैटौं खेल वेस्ट इन्डिजसँग आगमी शनिवार खेल्ने छ । ५ खेलमा ४ मा जित र १ मा हारका साथ ८ अंकका साथ इंग्ल्यान्ड दोस्रो र नेट रन रेटले पछि पर्दै अष्टेलिया तेस्रो स्थानमा छ । भारतले भने ४ खेलमा ३ मा जित निकाल्दै चौथो स्थानमा छ । यो हारसँगै दक्षिण अफ्रिकाको सेमिफाईनल खेल्ने संभावना लगभग सकिएको छ । अफ्रिका ६ खेलमा ४ मा हार र १ मा जितका साथ ८ औं स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *