वार्नरको किर्तिमानमा अष्ट्रेलिया विजयी, रहिमको शतक खेर

एजेन्सी । एकदिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा साविक विजेता अष्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार बंगलादेशलाई ४८ रनले पराजित गरेपछि इंग्ल्यान्ड र न्युजिल्यान्डलाई पछि पार्दै अष्ट्रेलिया शीर्ष स्थानमा उक्लिएको हो । ३ सय ८२ रनकोे विशाल लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ३३ रन मात्र बनाउन सक्यो । बंगलादेशका लागि विकेटकीपर मुश्फिकुर रहिमले शतक पुरा गरे पनि टोलीको हार टार्न सकेनन् । 

मिचेल स्टार्कको ४९ ओभरको अन्तिम बलमा १ रन बटुल्दै विश्वकपमा आफ्नो पहिलो शतक पुरा गरेका थिए । ९५ बलमा वान डे करियरको सातौं शतक पुरा गरेका रहिम ९७ बलमा ९ चौका र १ छक्का सहित १ सय २ रनमा अविजित रहेपनि टोलीको जितको लागि प्राप्त हुन सकेन । त्यस्तै, महमुदूल्लाहले आक्रमक ब्याटिङ गर्दै ५० बलमा ५ चौका र ३ छक्का सहित ६९ रनमा क्याच आउट भए । महमुदूल्लाह र मुश्फिकुरले पाँचौ विकेटका लागि १ सय २७ रनको साझेदारी गर्दै हारको अन्तर कम गरेका थिए । बंगलादेशले ओपनर सौम्य सरकारलाई १० रनमा गुमाएको थियो । 

 

null

१९ ओभरको पहिलो बलमा मार्कस स्टोइनिसले डेविड वार्नरबाट क्याच गराउँदै सकिब अल हसनलाई ४१ बलमा ४ चौका सहित ४१ रनमा खेलि रहेको अवस्थामा पेभिलिएन फर्काए । मिचेल स्टार्कले २५ औं ओभरको पहिलो बलमा ओपनर तामिम इकवाललाई ६२ रनमा बोल्ड आउट गरे । उनले ७४ बलमा ६ चौका प्रहार गरे । शब्बिर रहमान डक र मेहदी हसन मिराज ६ रनमा आउट भए । अष्ट्रेलियाका लागि नाथन कुल्टर नाइल, मिचेल स्टार्क, मार्कस स्टोइनिसले समान २ विकेट हात पारे । एडम जम्पाको नाममा १ विकेट रह्यो । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको अष्टेलियाले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ८१ रन बनायो । अष्टेलियालाई विशाल योगफल सम्म पुर्याउन ओपनर डेविड वार्नरले १ सय ६६ रनको उत्कृष्ट शतकीय इनिङ खेले । सौम्य सरकारको ४५ ओभरको दोस्रो बलमा ठूलो शट खेल्ने धुनमा क्याच आउट हुनुअघि वार्नरले १ सय ४७ बलमा १४ चौका र ५ छक्का प्रहार गरे ।वार्नरले १ सय १० बलमा आफ्नो वान डे करियरको १६ औं शतक पुरा गरेका थिए । जारी विश्वकपमा वार्नरको यो दोस्रो शतक हो । 

यस अघि पाकिस्तानसँगको खेलमा वार्नरले शतक प्रहार गरेका थिए । उनको सम्रग विश्वकपमा भने तेस्रो शतक पर्दछ । उस्मान खवाजाले पनि उत्कृष्ट प्रर्दशन गर्दै ८९ रनको योगदान दिए । ४७ ओभरको पाँचौ बलमा सरकारले नै विकेटकीपर मुश्फिकुर रहिमबाट क्याच आउट गराउनु अघि उनले ७२ बलमा १० चौका प्रहार गरे । दोस्रो विकेटका लागि डेविड वार्नर र उस्मान खवाजाले १ सय ९२ रनको साझेदारी गर्दै ठूलो योगफल सम्म पुर्याए । पहिलो विकेटका लागि ओपनर वार्नर र कप्तान आरोन फिन्चले १ सय २१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिए । 

२१ ओभरको पाँचौ बलमा सौम्य सरकारले रुवेल हसनबाट क्याच आउट गराउनु अघि फिन्चले ५१ बलमा ५ चौका र २ छक्का सहित ५३ रन जोडे । यस्तै तल्लोक्रममा ग्लेन म्याक्सवेलले विश्फोटक ब्याटिङ गर्दै १० बलमा २ चौका र ३ छक्का सहित ३२ रनमा रन आउट भए । स्टिभ स्मिथ १ रनमा आउट भए । मार्कस स्टोइनिस १७ र एलेक्स केरि ११ रनमा अविजित रहे । बंगलादेशका लागि सौम्य सरकारले ८ ओभरमा ५८ रन खर्चेर ३ विकेट लिए । त्यस्तै मुस्ताफिजुर रहमानको नाममा १ विकेट रह्यो । 

योसँगै अष्ट्रेलिया ६ खेलमा ५ मा जित र १ मा हारकासाथ शीर्ष स्थानमा उक्लिएको छ । ५ खेलमा ४ मा जित निकालेको न्युजिल्यान्ड ९ अंकका साथ दोस्रो स्थानमा छ । ५ खेलमा ४ मा जित र १ मा हार ब्योहोरेको घरेलु टोली इंग्ल्यान्ड तेस्रो स्थानमा छ । ४ खेलमा ३ मा जित निकालेको भारत चौथो स्थानमा रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *