राप्तीको नीतिः बालबालिकालाई विद्यालय झिकाउ, टिकाउ र सिकाउ
असार ११, चितवन । चितवनको राप्ती नगरपालिकाले सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन नयाँ अभियान जारी गरेको छ ।
विद्यालय जाने उमेर पुरा भएका बालबालिकाहरु शिक्षाबाट बञ्चित नहोऊन् भन्ने उद्देश्य तथा गुणस्तरीय शिक्षाका लागि सिकाइ प्रक्रिया प्रभावकारी बनाउन बालबालिकालाई विद्यालयमा झिकाउ, टिकाउ र सिकाउ अभियान सञ्चालन गर्ने नीति लिइएकोे नगर प्रमुख प्रभा बरालले जानकारी दिइन् ।
null
नगरपालिकाको बुधबार सम्पन्न पाँचौ नगर सभाले यस्तो नीति तथा कार्यक्रम तय गरेको हो ।
विषेशगरी राप्तीको पहाडी भेगका बालबालिका उमेर पुगेर पनि पढ्न नजाने, गएकाहरु पनि बीचमै छाड्ने प्रवृत्ती छ । विद्यालय जाने उमेर भएपनि विविध कारणले विद्यालय जान नसकेकाहरुलाई छात्रवृत्ति सहितका प्रोत्साहनका कार्यक्रम सञ्चालन गरी विद्यार्थी भर्ना अभियान सञ्चालन समेत गरिने नगर प्रमुख बरालले जानकारी गराइन् ।
नगरको वडा नम्वर १०, ११, १२ र १३ का विद्यालयहरुको बाल कक्षादेखि कक्षा ५ सम्मका सबै विद्यार्थीहलाई दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने पनि नगरपालिकाले जनाएको छ ।
यस्तै राप्ती ७ स्थित बीरेन्द्र आर्दश माविको खेल मैदानलाई खेल ग्रामको रुपमा विकास गर्ने नीति लिइएको छ । नयाँ भवन निर्माण गर्दा एक घर, दुई रुखको नीति समेत अख्तियारी गरिएको छ ।
कृषि, पर्यटन र पुर्वाधारलाई आगामी वर्ष विशेष जोड दिइने नगरपालिकाले जनाएको छ । आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ९४ करोड २५ लाख ५० हजार बराबरको बजेट ल्याइएको नगरपालिकाका उपप्रमुख इमानसिंह लामाले जानकारी दिए ।
जस मध्ये ६ करोड रुपैयाँ आन्तरीक श्रोतबाट जुटाउने लक्ष्य लिइएको छ । त्यस्तै प्रदेश सरकारबाट समानिकरण अनुदान १ करोड ७ लाख ७६ हजार, राजस्व बाँडफाँडबाट ३ करोड ८० लाख, संघीय सरकारबाट राजस्व बाँडफाँड १२ करोड १५ लाख, समानिकरण अनुदान १७ करोड २ लाख, संघीय सरकार शसर्त अनुदान चालु तर्फ २५ करोड ९४ लाख, अन्तर सरकारी अख्तियारीबाट २५ करोड ६९ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको उपप्रमुख लामाले बताए ।
पूर्वी चितवनका चार वटा नगरपालिकाहरुसँग समन्वय गरेर मेट्रोल रेल सञ्चालनका लागि पहल समेत गर्ने योजना बनाएको उपप्रमुख लामाको दाबी छ ।
मंगलबार र बुधबार दुई दिन सम्म चलेको नगर सभाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट सर्वसम्मतले पारित गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागांईले बताए ।
नगर सभाको समापन प्रतिनिधी सभा सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यता तथा प्रदेशका भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको थियो ।