बेइजिङमा नेपाल चीन रेलवार्ता, अर्को बैठक काठमाडौंमा हुने

काठमाडौं, ६ असार । नेपाल-चीन रेलमार्ग सहयोगसम्बन्धी चौंथो बैठक बेइजिङमा बसेको छ । केरुङ-काठमाडौं रेलमार्ग परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा लाग्ने खर्च, यातायात सम्पर्क विस्तार, मानवीय तथा भौतिक सहयोग लगायत विषयमा छलफलका लागि बैठक बसेको हो । बैठकमा कुनै ठोस निर्णय हुन नसकेको बेइजिङस्थित नेपाली राजदूतावासले जनाएको छ । पाँचौं द्विपक्षीय बैठक भने काठमाडौँमा आयोजना गर्ने सहमति बनेको छ । 

 

बैठकमा नेपालको तर्फबाट भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की नेतृत्वको टोली सहभागी भएको थियो । चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रिय रेल प्रशासनका उपप्रशासक आन लुशङले गरेका थिए । उपप्रशासक लुशङले नेपालमा रेलमार्ग विकासका लागि दुईपक्षीय सहयोग बारेमा जानकारी दिए । उनले भने, ‘रेल सहयोगका लागि भइरहेका गतिविधि सन्तोषजनक विकसित हुँदै गएका छन् ।’ 

null

नेपाली प्रतिनिधिमण्डलका कार्कीले नेपाल र चीनबीच रेलमार्गमार्फत् यातायात सम्पर्क विस्तार गर्न नेपाल प्रतिबद्ध रहेको र अन्तरदेशीय सम्बन्धमा रेलको सम्पर्क सञ्जाल निकै उपयोगी हुने बताए । बैठकमा दुवै पक्षबीच नेपालमा रेलमार्ग क्षेत्रको विकासका लागि प्राविधिक ज्ञानको विकास एवम् मानवस्रोतको क्षमता अभिवृद्धि, रेलमार्ग इन्जिनियरिङसम्बन्धी अध्ययन र तालिमको व्यवस्था, क्रसबोर्डर रेलमार्गको सम्भाव्यता अध्ययनसम्बन्धी छलफल भएको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । कान्तिपुर दैनिकमा लक्ष्मी लम्सारले लेखेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *