समाजवादी पार्टीभित्र दुई धार, कोरिया जान ९५ अर्ब खर्च, भित्रियो २६ अर्ब मात्र

काठमाडौं, २७ जेठ । समसामयिक राजनीतिसँगै कोरिया आकर्षण, स्याटेलाइट खरिद, सार्वजनिक जग्गा दुरुपयोगलगायत विषयमा आजका दैनिक पत्रिकाहरु केन्द्रित भएका छन् । बाबुराम भट्टराई उपेन्द्र यादव नेतृत्वको दलमा दुई धार देखिएकोलाई कान्तिपुरले आज मुख्य समाचार बनाएको छ । कान्तिपुरका अनुसार, सरकारमै बसेर राजनीतिक मुद्दा उठाउने या बाहिरिएर आन्दोलनमा जाने भन्नेमा समाजवादी पार्टीभित्र दुई धार देखापरेको छ । भ्रष्टाचार आरोपमा विश्व बैंकले कालोसूचीमा राखेको र दक्षिण अफ्रिकी अदालतमा मुद्दा परेको फ्रान्सेली विवादास्पद कम्पनी थेल्स ग्रुपसँग नेपालले स्याटेलाइट खरिद गर्न लागेको अर्को खबर पनि कान्तिपुरमा छ ।
नयाँ पत्रिकाले नेपाली युवाहरुमा देखिएको कोरिया आकर्षणबारे फरक ढंगले समाचार प्रस्तुत गरेको छ । समाचार अनुसार १० हजार सिटका लागि यस वर्ष ८४ हजारले परीक्षा दिएका छन् । पछिल्ला चार वर्षमा कोरिया जान युवाले ९५ अर्ब ९५ करोड खर्च गरेका छन् । तर, उताबाट २६ अर्ब ८८ करोड रेमिट्यान्स मात्र भित्रिएको छ । ‘भाषा सिक्न मात्रै वर्षमा सवा नौ अर्ब खर्च हुने गरेको छ । यो पैसाले हरेक वर्ष ४५ मेगावाटको विद्युत् आयोजना बन्न सक्छ । स्वदेशमै रोजगारी र मुनाफा आउन सक्छ । तर सोचिदिने कसले ?’ नयाँ पत्रिकाले यसको भित्री पाटो खोतल्दै प्रश्न गरेको छ ।
null
क्षयरोग नियन्त्रणबाहिर गएको तथ्य आजको नागरिकले प्रस्तुत गरेको छ । राष्ट्रिय क्षयरोग केन्द्र तथा विश्व स्वास्थय संगठनको संयुक्त टोलीले आइतबार सार्वजनिक गरेको प्रारम्भिक मूल्यांकन प्रतिवेदनले यस्तो तथ्य औंल्याएको समाचारमा उल्लेख छ । समाचार अनुसार, क्षयरोग नियन्त्रण गर्न २२ अर्ब रुपैयाँ खर्च भएको छ । तर, यो नियन्त्रणको साटो थप बढ्दै गएको छ । वीरगञ्ज महानगरपालिकाको स्वामित्वमा रहेको बहुमूल्य १४ कट्ठा जग्गा फर्जी कागजात तयार गरी भूमाफियाले व्यक्तिलाई बेचेको खुलासा पनि आजको नागरिकले गरेको छ । नगरपालिकाको २१ कित्ता जग्गा कर्मचारीको मिलेमतोमा भूमाफियाले हडपेको दाबी उसको छ ।
जनकपुर–जलेश्वर–भिठ्ठामोड सडक खण्ड निर्माणमा देखिएको बेथितिलाई अन्नपूर्णले उधिनेको छ भने राजधानीले स्थानीय तहका लागि लोकसेवाले माग गरेको विज्ञापनलाई लिएर विवाद बढिरहे पनि ७० हजारले आवेदन भरेको तथ्यांक प्रस्तुत गरेको छ । ‘विश्वविद्यालय शिक्षामा अन्तर्राष्ट्रियकरण अपरिहार्य’ भनेर राष्ट्रपतिले व्यक्त गरेको भनाइलाई गोरखापत्रले मुख्य समाचार बनाएर छापेको छ ।








