सातै प्रदेशका सांसद्लाई कुस्त बजेट, राजधानीमा चोरको बिगबिगी

काठमाडौं, २ असार । आजका दैनिक पत्रिकाहरु आइतबार सार्वजनिक आर्थिक वर्ष ०७६/७७ को बजेटमाथि केन्द्रित भएका छन् । यसबाहेक युरोप भ्रमणबाट फर्केका प्रधानमन्त्रीले दिएको अभिव्यक्ति, गुठी विधेयक विवादलगायत विषयलाई पनि पत्रिकाहरूले प्राथमिकतापूर्वक समेटेका छन् ।
कान्तिपुरले ‘सातै प्रदेशका सांसद्लाई कुस्त बजेट’ शीर्षक दिएर प्रदेशले सार्वजनिक गरेको बजेटको कभरेज गरेको छ । अधिकारसम्मपन्न स्थानीय तह गठन भए पनि केन्द्रको सिको गर्दै सातै प्रदेशले सांसदको तजबिजीमा खर्च गर्ने गरी बजेट सार्वजनिक गरेको कान्तिपुरको ठम्याइ छ । यतिबेला गर्मी निक्कै बढेको छ । तराईमा त जनजीवन नै गर्मीले प्रभावित पारेको छ । कान्तिपुरले गर्मी बढ्नुको कारण पनि आज खोजेको छ । कान्तिपुरका अनुसार मनसुन बंगालमा रोकिँदा गर्मी अत्यधिक मात्रामा बढेको छ ।
null
सातै प्रदेशले सार्वजनिक गरेको बजेटमाथि अन्नपूर्णले मुख्य समाचार बनाएको छ । अन्नपूर्णका अनुसार संघीय सरकारको सिको गर्दै सुदूरपश्चिमबाहेकका सबै प्रदेशहरूले ठूलो आकारको बजेट प्रस्तुत गरेका छन् । हचुवामा शिक्षक थपिन लागेको खबर पनि आजको अन्नपूर्णमा छ । विद्यार्थी घटेर अधिकांश सामुदायिक विद्यालय बन्द हुने अवस्थामा पुगे पनि सरकारले शिक्षक दरबन्दी थप गर्ने तयारी गरेको हो ।
सुन्दरीजलको माटो बोकेर कांग्रेस कार्यकर्ताले कोइरालानिवासको भुइँ ढोगेको विषयलाई नयाँ पत्रिकाले फरक ढंगले प्रस्तुत गरेको छ । कांग्रेस कार्यकर्ताको शीर कोइरालानिवास अगाडि श्रद्धा र सम्मानले झुक्ने गरे पनि यस संरक्षणमा कोइरालाका सन्तति उदासीन देखिएको नयाँ पत्रिका समाचारको सार छ । नयाँ पत्रिकाका अनुसार, कोइरालाका सन्ततिले निवासको जग्गा नै कित्ताकाट गरेर बेचेका छन् । सिंहदरबारभित्रै औषधि अभाव भएको अर्को रोचक खबर पनि नयाँ पत्रिकाको पहिलो पृष्ठमा छ ।’
नागरिकले गुठी विधेयकबारे नेकपा नेताको मत लिएको छ । नागरिकका अनुसार नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, स्थायी समिति सदस्य योगेश भट्टराई र मणि थापाले गुठी विधेयक स्थगत गरी सरोकारवालासँग छलफल गर्न सुझाव दिएका छन् ।
राजधानीमा चोरको बिगबिगी बढेको खबर छ भने गोरखापत्रले ‘युरोप भ्रमण फलदायी’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ ।








