पहिरोले थुनिए २८ परिवार, चारैतिरका डाँडा चिराचिरा

काठमाडौं, ९ असार । घरछेउबाट देखिने चारैतिरका डाँडा चिराचिरा परेका छन् । ती हेर्‍यो कि डर लाग्छ । ६ दिनयता रातभर पानी परिरहेको छ । दिउँसो घाम लाग्छ । कतिखेर कहाँबाट पहिरो जाला भन्ने त्रास छ । ठाउँठाउँमा जमिन फाटेको छ । असार ३ गते गएको पहिरोले मकालु गाउँपालिका ५ मा २८ परिवार गाउँमै थुनिएका छन् । उनीहरू ६ दिनदेखि राम्ररी निदाउन पाएका छैनन् । भीषण वर्षाले सबै भूभाग क्षतिग्रस्त भएको पेपुवाका विस्थापित मकरध्वज राईले बताए । 

‘फोन पनि दिउँसो घाम लागेका बेला मात्र चल्छ,’ उनले भने, ‘उद्धारको पर्खाइमा छौं । नजिकैको खुला आकाशमा रात काटिरहेका छौं ।’ विस्थापितका लागि नजिकका बजार नुम र हेदान्ना हुन् । तर यहाँसम्म पुग्ने बाटो पहिरोले भत्काइदिएको छ । बाटो नभएपछि गाउँमै थुनिएर बस्नुपरेको राईले बताए । भएको अन्नपात सकिएपछि अब के खाने भन्ने चिन्ता उनीहरूमा छ । बालबालिका स्कुल जान पाएका छैनन् । विद्यालयसम्म पुग्ने बाटो छैन । पहिरोले भत्किएको बाटो पुनः सञ्चालनमा ल्याउन महिनौं लाग्न सक्ने गाउँले बताउँछन् । 

 

null

पहिरोको बाटो हिँड्ने सक्ने अवस्थामा नरहेको स्थानीय शैलेन्द्र राईको भनाइ छ । खानेपानीको मुहान पनि पहिरोले बगाएकाले धेरै समस्या भएको उनले बताए । ‘अकाशबाट झरेको पानी थाप्छौं र खान्छौं,’ उनले भने, ‘सबैको घरमा भएको अन्नपात सकिएकाले समस्या हुन थालेको छ ।’ असार ३ गते बिहानीपख पहिरो झरेपछि गाउँले आत्तिएका थिए । ‘मरियो जस्तो लागेको थियो, उज्यालो भएपछि हेर्दा जतासुकै पहिरो झरेको देख्यौं,’ राईले भने, ‘अन्यत्र जाने बाटो बन्द भइसकेको थियो । 

गाउँ वरिपरि पहिरो झरेकाले कुन बेला यता पनि जाने हो भन्ने चिन्तामा छौं । पेपुवाबाट मकालु गाउँपालिकाको केन्द्र आउन यसअघि ७ घण्टा लाग्थ्यो, अब पुग्नै नसकिने भयो ।’ किनमेलका लागि नुम बजार र हेदान्ना गएका पनि उतै बसिरहेको उनको भनाइ छ । मकालु गाउँपालिकाले पहिरो पीडितका लागि सदरमुकाम खाँदबारीमा राहत सामग्री तयारी अवस्थामा राखेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए । 

खाँदबारीबाट सेनाको हेलिकप्टरमार्फत राहत लैजाने तयारी भएको उनको भनाइ छ । मौसम सफा नभएकाले आइतबार सेनाको हेलिकप्टरबाट राहत सामग्री वितरण हुन नसकेको डीएसपी मिमबहादुर लामाले जानकारी दिए । ‘सबै सामग्री तयारी अवस्थामा छन्,’ उनले भने, ‘हेलिकप्टर आएर बस्ने अवस्था नभएपछि उद्धार र राहतमा समस्या भयो ।’ उच्च हिमाली भेग रहेकाले मौसममा सुधार आउन नसक्दा हेलिकप्टर लैजान नसकिएको उनले बताए । 

थुनिएकालाई उद्धार गरी नुम र हेदान्ना ल्याउने तयारी गरिएको लामाको भनाइ छ । पहिरो गएपछि प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोली नुम र अरुण तेस्रो आयोजनाको ड्यामसाइडसम्म पुगेर फर्किएको थियो । ‘त्यहाँभन्दा उता हिँडेर जाने सडक नभएपछि हामी पनि फर्कियौं,’ उनले भने, ‘पहिरो हेर्दा कहालीलाग्दो छ ।’ मानवीय क्षति भने भएको छैन । प्रहरीलाई पनि क्षतिको विवरण संकलन गर्न ४ दिनभन्दा बढी लागेको थियो । 

असार १ र २ गते लगातार २४ घण्टाभन्दा बढी परेको पानीले गाउँपालिका ५ पेपुवाका चार गाउँका २९ परिवार पहिरोबाट विस्थापित भएको वडाध्यक्ष जापान गुरुङले बताए । गैरीगाउँ, रुपसाङ गाउँ, सिरान गाउँ र डाँडागाउँका २९ परिवार अहिले खुला ठाउँमा बसिरहेका छन् । त्यसमध्ये २२ घर उच्च जोखिममा छन् । पेपुवाको चारैतिर पहिरो झरेकाले स्थानीय त्रस्त छन् । कुनै पनि बेला पहिरो खस्ने भएकाले पेपुवाका चार गाउँका २९ घर परिवारलाई सुरक्षित स्थानमा सार्न लागिएको वडाध्यक्ष गुरुङले बताए । 

विस्थापितलाई सुरक्षित स्थानमा ल्याएर राखिने प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतम बताउँछन् । विस्थापितका लागि उचित राहतको व्यवस्था मिलाउने उनको दाबी छ । पहिरोले नुमको फ्याक्सिन्दा र हेदान्ना जाने गोरेटोबाटो पनि पुरेपछि सेनाले काम थालेको छ । उसले आइतबार मात्रै ३ सय मिटर बाटो खोलेको छ । पहिरोले सडकमार्गसँगै गोरेटोबाटो पनि पुरेको थियो । आजको कान्तिपुर दैनिकमा दीपेन्द्र शाक्यले लेखेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 9 =