ब्राजिलसँग पेरु फराकिलो अन्तरले पराजित


एजेन्सी । कोपा अमेरिका २०१९ अन्तर्गत घरेलु टोली ब्राजिल समूह विजेता बन्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा ब्राजिलले पेरुलाई ५-० को फराकिलो अन्तरले पराजित गरेको हो । ब्राजिलले खेलको १२ औं मिनेटमा क्यासेमिरोको गोलमा अग्रता लिएको थियो । उनले मार्किन्होसको पासलाई सदुपयोग गरे । त्यसको ७ मिनेटपछि नै ब्राजिलले रोबर्टो फिर्मिनोको गोलमा अग्रता दोब्बर पारे ।
खेलको ३२ औं मिनेटमा एभरटनले गोल गरेपछि ब्राजिल फराकिलो जिततर्फ उन्मुख भएको थियो । पछिल्ला दुवै खेलमा बेन्चबाट आएर प्रभाव जमाएका एभरटनले फिलिपे कोउटिन्होको पासमा गोल गरेका थिए । दोस्रो हाफको ५३ औं मिनेटमा फिर्मिनोको पासमा कप्तान ड्यानी आल्भेसले गोल गरे । ९० औं मिनेटमा एभरटनको पासमा विलियनले उत्कृष्ट गोल गरेपछि ब्राजिल ५-० ले अगाडि बढ्यो । इन्ज्युरी समयमा ग्याब्रिएल जेससले पेनाल्टी सदुपयोग गर्न नसक्दा ब्राजिल आधा दर्जन गोल पुर्याउन चुकेको थियो । उनको प्रहार गोलरक्षक पेड्रो गलेसेले बचाए ।
null
यस नतिजासँगै ब्राजिल ३ खेलमा ७ अंक जोड्दै शीर्षस्थानमा रहेर क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबारै बोलिभियालाई ३-१ ले पराजित गरेको भेनेजुएला ३ खेलमा ५ अंकसहित दोस्रो स्थानमा रहेर क्वाटरफाइनलमा पुग्यो । तेस्रो स्थानको पेरु भने ३ खेलमा ४ अंक छ र उत्कृष्ट तेस्रो स्थानमा रहँदै अर्को चरणमा प्रवेश गर्ने सम्भावना कायमै छ । बोलिभिया अंकविहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
