समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा, प्रदेश २ बाहिरियो


जेठ १९, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको समूह चरणको अन्तिम खेलमा प्रदेश २ लाई १५६ रनले पराजित गर्दै पुलिस समूह बी बाट सेमिफाइनलमा प्रवेश गरेको हो ।
null
जितसँगै समूह चरणमा अपराजित रहेको पुलिसले ४ खेलमा ४ जितसहित ८ अंक जोडेको छ । यस समूहबाट त्रिभुवन आर्मी उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । त्यस्तै ४ अंक जोडेको प्रदेश २ भने प्रतियोगिताबाट बाहिरिएको छ ।
पुलिसले दिएको २५४ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले २९ ओभरमा अलआउट हुँदै ९७ रन मात्र बनाउन सक्यो ।
प्रदेश २ का लागि हरि शंकर साहले सर्वाधिक २९ रन जोडे । यस्तै कप्तान मेहबुब आलमले २१ रन जोड्दा रबी साहले १५ र सुरज पटेलले १२ रन बनाए ।
नेपाल पुलिसका दिपेन्द्र सिंह ऐरीले ५ विकेट लिए भने ललित नारायण राजवंशीले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ९ विकेट गुमाएर २५३ रन बनाएको थियो ।पुलिसका लागि अमित श्रेष्ठले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यसै सुनिल धमलाले ४३, अनिल कुमार साहले ३७, कुशल भुर्तेलले ३५ तथा आरिफ शेखले ३२ रन बनाए ।
प्रदेश २ का संसद शेखले ४ तथा राशिद खानले २ विकेट लिए ।
