पत्रपत्रिकामा आज: पाँचथर हत्याले जन्माएका सातथरी प्रश्न, सार्वजनिक जग्गा अतिक्रमण

काठमाडौं, ८ जेठ । आज राजधानीबाट प्रकाशित पत्रिकाहरुमा पाँचथरमा नौ जनाको विभत्स हत्यासम्बन्धी समाचार प्राथमिकतामा परेको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा मंगलबार बमबहादुर फियाक र धनराज शेर्माका परिवारका ९ जनाको हत्या भएको हाे । 

 

नयाँ पत्रिकाले ‘पाँचथर हत्याः सातथरी प्रश्न’ शीर्षक दिएर पाँचथर घटनाका विभिन्न पाटापक्ष केलाएको छ । नयाँ पत्रिकाका अनुसार, यो घटनाले सातथरी प्रश्न जन्माएको छ । नौजनाको हत्यामा बमबहादुर फियाकका अर्का ज्वाइँ मानबहादुर मोखिम संलग्न रहेको अनुमान प्रहरीले गरेको छ । तर, नयाँ पत्रिकाले प्रहरीको प्रारम्भिक अनुमानमाथि प्रश्न उठाएको छ । कुनै सवारी साधन नै नभएका व्यक्ति बिहान हुनुअघि नै २५ किलोमिटर टाढा पुग्नुले मोखिमको संलग्नताबारे गरिएको अनुमान प्रश्नको घेरामा परेको नयाँ पत्रिका समाचारको सार छ । नयाँ पत्रिकाले यति क्रूर हत्या कसरी भयो भनेर विज्ञको राय लिने प्रयास पनि गरेका छन् । नेपाल प्रहरीका अवकाशप्राप्त डीआईजी हेमन्त मल्लले नेपालीमा रिस धेरै भएको र त्यसकै परिणाम यस्ता घटना भएको उनको भनाइ छ । 

null

 

कान्तिपुर दैनिकका अनुसार अमेरिकी राजदूत र्‍यान्डी बेरीले सुरु गर्न लागेको विवादास्पद नागरिक सम्वाद कार्यक्रममा परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण भएको छ । राजदूत बेरीले आगामी सोमबारदेखि ‘राजदूतसँग गफगाफ’ गर्ने योजना बनाएका थिए । त्यसको जानकारीसम्बन्धी भिडियो बनाएर उनले फेसबुक पेजमा पोष्ट गरेका थिए । तर, उनले यस सम्बन्धमा परराष्ट्र मन्त्रालयसँग अनुमति नलिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् । परराष्ट्र मन्त्रालयका सचिव शंकर बैरागी दाहालले भनेका छन्, ‘यसरी स्वेच्छाले एउटा कुटनीतिक अधिकारीले संवाद गर्न मिल्दैन ।’ 

 

अन्नपूर्ण पोष्ट दैनिकले विवादास्पद विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो राखेको विषयलाई पनि प्राथमिकताका साथ स्थान दिएको छ । राष्ट्रपतिले राहदानी, मानवअधिकार आयोग र मिडिया काउन्सिल विधेयकमा चासो राखेकी हुन् । यी तीन विवादास्पद विधेयकबारे राष्ट्रपति भण्डारीले कानुन व्यवसायी पृष्ठभूमिका दुई सांसदलाई शितल निवास बोलाएर परामर्श गरेको अन्नपूर्ण पोष्टले लेखेको छ । 

 

नागरिक दैनिकले कामिरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहण गरेको समाचारलाई प्राथमिकताका साथ छापेको छ । ‘कामिरितालाई सगरमाथा पानीपँधेरो’ शीर्षकको समाचारमा लेखिएको छ, ‘आठतले घर एकैपटक उक्लिँदा धेरैलाई स्वाँस्वाँ हुन्छ तर कीर्तिमानी आरोही कामिरिता शेर्पाले ८ हजार ८ सय ४८ मिटर अग्लो सर्वोच्च शिखर सगरमाथा एकै सातामा दुई पटक आरोहण गरेर सबैलाई चकित पारेका छन् । गत बुधबारमात्रै २३ औं पटक सगरमाथा चढेका उनले मंगलबार बिहान २४ औं पटक सफल आरोहण गरेका थिए । 

 

नेपाल समाचारपत्र दैनिकले कर्मचारी भर्ना सम्बन्धी समाचारलाई मुख्य समाचार बनाएर छापेको छ । तहगत रुपमा कर्मचारी माग गर्ने बाटो खुला भएको समाचारमा उल्लेख छ । समाचारमा लेखिएको छ, ‘स्थानीय तह र प्रदेशमा कर्मचारीका लागि तहगत व्यवस्था गरिएअनुरुप अब तहगतरुपमा कर्मचारी माग गर्न लागिएको हो । संघीय सरकारमा भने श्रेणीगत व्यवस्था कायम गरिएको छ ।’ 

 

राजधानीले भने सार्वजनिक जग्गा दुरुपयोगकै विषयलाई आज पनि मुख्य समाचार बनाएको छ । उसले आज चितवनस्थित देवघाटको जग्गा अतिक्रमणबारे खोतलेको छ । समाचार अनुसार देवघाट क्षेत्र विकास समितिको स्वामित्वमा ५ हजार ४३४ हेक्टर जमिन छ । त्यसमध्ये २७ बिघाभन्दा बढी जग्गा अतिaक्रमणमा परेको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 6 =