उत्कृष्ट पुनरागमनको अर्को नमुना, मौराको ह्याट्रिकले टोटनह्याम फाइनलमा

एजेन्सी । टोटेनहम हट्सपर आयाक्सलाई पराजित गर्दै च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । ब्राजिलियन फरवार्ड लुकास मौराले खेलको दोस्रो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गरेपछि टोटेनहम च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको हो । 

पहिलो हाफ २-० ले पछाडी परेको टोटेनहमका लागि लुकास मौराले दोस्रो हाफमा ह्याट्रिक प्रहार गरेका थिए । अवे खेलमा ३-२ ले विजयी हुँदै टोटेनहम समग्रमा ३-३ को बराबरी पछि अवे गोलको आधारमा फाइनल पुगेको हो । 

 

null

आयाक्सले खेलको पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलको यात्रा बलियो बनाएको थियो । खेलको पाँचौ मिनेटमा कप्तान माथिस डे लिटले आयाक्सलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफ सकिन १० मिनेट समय बाँकी छँदा हाकिम जिएकले आयाक्सको अग्रता दोब्बर पारेका थिए । 

पहिलो हाफ सकिँदा समग्रमा ३-० ले अगाडी रहेको आयाक्स दोस्रो हाफमा भने सम्हालिन सकेन । मौराले ५५ औं मिनेटमा डेले आलीको पास सदुपयोग गर्दै टोटेनहमलाई खेलमा फर्काए । त्यसको ४ मिनेटपछि नै उनले पेनाल्टी क्षेत्रभित्र रिबाउन्डमा आएको बललाई गोलमा परिणत गरे । 

खेलको ५ मिनेट थप गरिएको इन्ज्युरी समयको अन्तिम मिनेटमा मौराले ह्याट्रिक पुरा गर्दै टोटेनहमलाई पहिलो पटक फाइनल पुर्याए । यस जितसँगै टोटेनहमले लिभरपुलसँग च्याम्पियन्स लिगको फाइनल पक्का गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा लिभरपुलले बार्सिलोनालाई उत्कृष्ट पुनरागमन गर्दै समग्रमा ४-३ ले पराजित गरेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *