चेल्सी युरोपा लिगको फाइनलमा प्रवेश, उपाधिका लागि आर्सनलसँग भिड्ने

एजेन्सी । इंग्लिस क्लब चेल्सीले जर्मन प्रतिद्धन्द्धी फ्रान्कफर्टमाथि कठिन जित निकाल्दै युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गोलरक्षक किपा आरिजावालगाले दुई पेनाल्टी रोकेपछि चेल्सीले फाइनलमा प्रवेश गरेको हो । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय र थप गरिएको अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा चेल्सीले फ्रान्कफर्टलाई ४–३ ले पराजित गर्दै उपाधिनजिक पुगेको हो ।
त्यसअघि पहिलो लेगको खेल १–१ गोलको बराबरी र समग्रमा २–२ गोलको बराबरी भएपछि खेल पेनालटी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीमा चेल्सीका गोलरक्षक किपाले दुई पेनाल्टी रोक्दै चेल्सीलाई फाइनलको बाटो देखाएका थिए । किपाले फ्रान्कफर्टको मार्टिन हिन्टेरेजर र गान्कलो पासेन्सियाको अन्तिम दुई पेनालटी रोकेका थिए । चेल्सीका सेसरको प्रहार फ्रान्कफर्टका गोलरक्षकले रोकेका थिए ।
null
रोस बार्कली, जगिन्हो, डेभिड लुइज र इडेन हजार्डले गोल गरे । फ्रान्कफर्टका सेवास्टिन हेलर, लुका जेभिक र जोनाथन डि गजमनल गोल गरे । त्यसअघि घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलको २८ औं मिनेटमा रुवेन लफटरस चिकको गोलबाट चेल्सीले सुरुवाती अग्रता लिएको थियो । ४९ औं मिनेटमा लुका जोभिकले बराबरी गोल फर्काउदै खेललाई अतिरिक्त समयसम्म धकेलेका थिए ।
अब चेल्सीले उपाधिका लागि अर्को ईग्लिस क्लब आर्सनलसँग खेल्नेछ । आर्सनलले स्पेनिस प्रतिद्धन्द्धीमाथि समग्रमा ७–३ को जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको थियो । फाइनल खेल मे २९ मा अजरवैजानको बाकु स्टेडियममा हुनेछ ।








