‘नीति तथा कार्यक्रम परिस्कृत नभएको निबन्ध जस्तो’ डा. महत

काठमाडौं, २१ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रम परिस्कृत नभएको निबन्धको संज्ञा दिएका छन् । उनले भने,‘नीति तथा कार्यक्रम भनेको त आगामी एक वर्षको लागि हो, तर सरकारले धेरै महत्वकांक्षी योजना तथा कार्यक्रमहरु ल्याएको छ । जसको सम्भाव्यता अध्ययन गर्नै वर्षौं लाग्छ ।’ 

शनिबार आयोजित साक्षात्कारमा बोल्दै नेता महतले सरकारले आफ्नो चरित्र सुहाउँदो नीति तथा कार्यक्रम ल्याएको पनि आरोप लगाए । उनले भने,‘यो सरकार कामभन्दा प्रचारमुखी छ । यसले ल्याएको नीति तथा कार्यक्रममा धेरै प्रोपोगाण्डा छन् ।’ 

उनले नीति तथा कार्यक्रम एक वर्षको लागि भएकोले छोटो हुनुपर्नेमा धेरै लामो भएको पनि टिप्पणी गरे । उनले भने,‘दुई घण्टा लामो भाषण गरियो । यति लामो भाषण त नेपालको ईतिहासमा कहिल्यै भएको थिएन ।’ 

null

 

त्यस्तै उनले ‘नेपाल सरकार’ भन्नुपर्ने ठाउँमा पटक–पटक ‘मेरो सरकार’ भनेर सम्बोधन गर्नुमा राष्ट्रपतिको दोष नभएर सरकारको दोष भएको पनि स्पष्ट पारे । महतले भने,‘यो जनताको सरकार हो ।’ आफ्नो पार्टीनिकटका नेताहरुको नाममा धेरै भन्दा धेरै कार्यक्रमहरु ल्याईएको पनि उनले गुनासो पोखे । 

‘नेपाली कांग्रेसले पछिल्लो २५–३० वर्षको ईतिहासमा १६–१७ वटा नीति तथा कार्यक्रम ल्याईसकेको छ । तर, हामीले वीपीका नाममा एक दुई वटा वाहेक कहिल्यैपनि अन्य नेताका नाममा कार्यक्रमहरु ल्याएनौं ।’ उनले भने । 

डा. महतले अहिले राष्ट्रपति र प्रधानमन्त्रीको नाममा धेरै कार्यक्रमहरु ल्याईएकोप्रति असन्तुष्टि पोखे । ‘कतिपय कार्यक्रमहरु त प्रचारमुखी छन् । कतिपय सरकारले गरेका कामको दाबीमा पनि सत्यता छैन ।’ उनले भने । सरकारले सबैखाले संक्रमणकालिन अवस्थाको अन्त्य भयो भनेर दाबी गरेपनि यसमा कुनै सत्यता नभएको उनले जिकिर गरे । ‘अहिलेपनि संक्रमणकालिन न्यायको काम बाँकी नै छन् । ६ हजारभन्दा बढि उजुरी छ । कानून संशोधन गर्नुपर्छ ।’ डा. महतले भने । 

केन्द्र, प्रदेश तथा स्थानीय सरकारबीच अधिकार बाँडफाँडको पनि समस्या रहेको उनको भनाई छ । उनले भने,‘तीन तहको सरकारबीच अधिकारको विवाद छ । क्षेत्राधिकार के हो ? भन्ने विवाद छ ।’ उनले सविधान कार्यान्वयनको पनि संक्रमण अझै बाँकी रहेको सुनाए । 

सरकारले फजुल खर्च रोक्न नसकेको र बजेटको दुरुपयोग धेरै भएको पनि उनको टिप्पणी छ । चार वर्षअघिदेखि सुरु गरिएको विरगन्ज–रक्सौल पेट्रोलियम पाईपलाईनको कामलाई पनि यही सरकार आएपछि गरेको भनेर अनावश्यक दाबी गरेको पनि महतले आरोप लगाए । सरकार आत्मरतिमा रमाएको र आत्मप्रशंसा गरेको पनि उनले टिप्पणी गरे । 

नीति तथा कार्यक्रममा कुनै प्राथमिकता नै नभएको पनि उनले टिप्पणी गरे । उनले भने,‘हुने नहुने कुराहरुपनि लेखिएका छन् । एक वर्षको लागि ल्याईएको कार्यक्रम चार वर्ष र पाँच वर्षभित्र गर्ने भनेर ल्याईएको छ ।’ रेलवे निर्माणको बारेमा पनि सरकारले महत्वकांक्षी दाबी गरेको महतको भनाई छ । सुरु गरिएका र यही वर्ष सम्पन्न गरिसक्ने भनिएका मेलम्ची आयोजना, अप्पर तामाकोशी, सिक्टा सिँचाई आयोजनालगायत राष्ट्रिय आयोजनाहरुको काम अहिले रोकिएको पनि उनले सुनाए । 

सरकारले संस्थागत क्षमता र कार्यान्वयन क्षमता बढाउनेतर्फ ध्यान दिनुपर्ने पनि उनको सुझाव छ । ‘सायद यसबारेमा सरकारलाई जानकारी नै छैन । त्यसैले सबैभन्दा ठूलो कुरा मुलुकको कार्यान्वयन क्षमता बढाउनुपर्छ । प्रशासनिक क्षमता दिनप्रतिदिन घटिरहेको छ ।’ महतले भने । कर्मचारीतन्त्रमा राजनीतिकरण गरिएको र पार्टीनिकट भएका कर्मचारीहरुलाई मूख्य पोजिशनमा राखिएको पनि उनले सुनाए । 

मुलुकमा सरकारले हल्ला गरेजस्तो सुशासन नभएको पनि उनले आरोप लगाए । उनले थपे,‘अहिलेपनि सुशासनको अभाव छ । नीति तथा कार्यक्रममा पटक–पटक सुशासन छ भनियो । तर, सरकारले भनेजस्तो अवस्था छैन ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *