नागरिकलाई गुणस्तरिय जीवनयापनको अवसर सुनिश्चित गरिन्छः अर्थमन्त्री खतिवडा

 

बैशाख २७, काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले ‘समृद्ध नेपाल सुखी नेपाली’ को लक्ष्य राखेको सरकारको एक वर्षको कार्यकालमा आर्थिक तथा सामाजिक पूर्वाधार निर्माणमा उत्साहजनक उपलब्धि हासिल भएको बताएका छन् । 

संसदमा आजदेखि सुरु भएको आर्थिक वर्ष २०७६/७७ को प्रिबजेटमाथि छलफलका क्रममा अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । 

null

बैठकमा अघिल्लो वर्ष भन्दा यस वर्ष आर्थिक वृद्धिदर बढेको जानकारी गराउँदै उनले मूल्यवृद्धि नियन्त्रणमा रहेको पनि दाबी गरे । उनले भने, ‘अघिल्लो आर्थिक वर्षमा ६.७ प्रतिशत रहेको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा ७ प्रतिशत कायम हुँदै आगामी आर्थिक वर्षहरुमा अझ उच्च हुने बलियो आर्थिक आधारशिला निर्माण भएको छ ।’ 

उनले यस वर्ष आन्तरिक बचत उल्लेखनीय रुपमा वृद्धि भइ राष्ट्रिय पूँजी निर्माणको दरिलो आधार तयार भएको पनि बताए । लगानीको वातावरणमा उल्लेखनीय सुधार आएसँगै स्वदेशी तथा विदेशी लगानीको प्रतिबद्धता बढेको उनको भनाइ छ । 

‘वित्तिय सेवा र पहुँच विस्तार भएको छ । वित्तिय साधन उत्पादनमुखी हुँदै गएको छ । आद्योगिक तथा विकास निर्माण सम्बन्धी पूँजीगत सामानको माग बढेसँगै वस्तु आयात वृद्धि भएपनि निर्यात क्षेत्र सुधारोन्मुख छ । भुक्तानी सन्तुलनमा केही चाप परेपनि मुद्रा संचिती सुविधाजनक स्थितिमा रहेको छ । राजस्वको दायरा फराकिलो बनाइएको छ’, उनले भने । 

यस्तै उनले राजस्व चुहावट नियन्त्रणमा विशेष जोड दिइने, नागरिकका मौलिक हक र अधिकार सम्बन्धी बनेका कानुनहरुको कार्यान्वयन गरिने, नागरिकलाई सुरक्षित, सम्मानित र गुणस्तरिय जीवनयापनको अवसर सुनिश्चित गरिनेतर्फ बजेट लक्षित हुने, सबै क्षेत्रका नेपालीलाई आफ्नो ज्ञान, सीप र क्षमताको विकास तथा उपयोग गर्ने अवसर सिर्जना गरिने बताए । 

राष्ट्र निर्माण र विकासको यात्रामा सम्पूर्ण नेपालीलाई समाहित गरी न्यायपूर्ण सामाजिक, आर्थिक विकास गर्ने रुपान्तरणका लागि कार्यनीति र कार्यक्रमहरु तयार गरिने उनको भनाइ छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *