सरकारी स्वामित्वको जग्गा किर्ते गरी पास

नेपालगन्ज , २५ वैशाख । बाँके र बर्दियामा ‘संगठित भूमाफिया गिरोह’ले मालपोतका कागजात किर्ते गरी सरकारी जग्गा नामसारी गरेको रहस्य खुलेको छ । मालपोत कार्यालयका कर्मचारीसँग ‘सेटिङ’ गरी सरकारी स्वामित्वको जग्गा किर्ते कागज बनाएर आफन्तका नाममा पास गरेको फेला परेको हो । प्रहरी अनुसन्धानले बर्दियामा ६ बिघाभन्दा बढी र बाँकेमा ११ कठ्ठाभन्दा बढी जग्गा किर्ते गरी पास गरेको फेला पारेको छ । एक जनाको अपहरणपछि हत्या भएपछि यसबारे रहस्य बाहिर आएको हो । 

२१ माघ २०७५ मा भारतको बहराइच थाना मोतीपुर घर भई नेपालगन्ज–१६ जयसपुरमा डेरा गरी बस्ने जुनेद अन्सारी अपहरणमा परे । अपहरणको भोलिपल्ट भारतको उत्तरप्रदेशमा पर्नेमा नबाबगन्जमा जलाएर उनको हत्या भयो । २३ माघमा मृतककी पत्नी गौरी मल्ल अन्सारीले नेपालगन्ज उपमहानगर–३ बस्ने खैरुल भन्ने कौशल अन्सारीले पतिको अपहरण गरी हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् । प्रहरीले हत्याबारे अनुसन्धान गर्दा भूमाफियाको रहस्य खुलेको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता टीकाबहादुर कार्कीले बताए । 

 

null

मालपोत कर्मचारीसँग सेटिङमा जुबेर र खैरुल मिलेर मालपोत कार्यालयका किर्ते कागज बनाई सरकारी जग्गा आफन्तको नाममा पास गरेको भेटिएको छ । जग्गाको कागजात जुबेरले राख्ने गरेका थिए । कागजका विषयमा विवाद हुँदा खैरुलसहित ५ जनाले जुबेरको हत्या गरेको प्रहरीको अभियोग पत्रमा उल्लेख छ । ३ वर्षदेखि किर्ते काम भइरहेको अभियुक्तले प्रहरी र अदालतमा दिएको बयानमा उल्लेख छ । 

मालपोत कर्मचारीसँग मिलोमतोमा सरकारको नाममा दर्ता स्रेस्ता कायम रहेका जग्गाका सक्कली जग्गाधनी पुर्जा र फाँटवारी निकालेर स्रेस्ता जीर्ण रहेको भनी किर्ते कागजात खडा गरी जग्गा आफन्तको नाममा ल्याउने गरेका थिए। यो कार्यमा मालपोतका पियनदेखि प्रमुखसम्म १६ जना कर्मचारी संलग्न भएको खुलेको छ । 

सरकारी कागजात भर्ने, दृष्टिबन्धक पारित गर्ने, दृष्टिबन्धक लिखतको रजिस्ट्रेसन फाँटको काम गर्ने, स्रेस्ताको नक्कल दिने, स्रेस्ताको प्रतिलिपि प्रमाणित गर्ने, जग्गा हाल साविक गर्ने, तीनपुस्ते कायम गर्ने, तीनपुस्ते निर्णय कायम निर्णय सदर गर्ने, नामसारी निर्णय पर्चा खडा गर्ने, कम्प्युटरमा इन्ट्री सदर गर्ने, मोठ भिडाउने, भिडिसकेको मोठलाई पुनः रोक्का भिडाउने, राजस्व रसिद काट्ने, कम्प्युटरमा जग्गा इन्ट्री गर्ने, तोक लगाएर जग्गाको नामसारी सदर गर्ने, स्रेस्ता उतार गर्ने मालपोत कार्यालय बर्दियाका प्रमुख मालपोत अधिकृत कृष्णप्रसाद ज्ञवालीसहित, हाल कैलाली भूमिसुधार तथा मालपोेत कार्यालयका प्रमुख दीर्घबहादुर पोखरेलसहित ३१ जना सहभागी भएको जिल्ला अदालत बाँकेमा मुद्दा विचाराधीन छ । ६ जना मालपोत अधिकृत किर्ते काण्डमा मुछिएका छन् । 

१२ वैशाखमा जिल्ला अदालत बाँकेका न्यायाधीश रामप्रसाद बस्यालले सरकारी कागज किर्ते गरेको अभियोगमा १६ जनालाई पुर्पक्षमा जेल चलान र ३ जनालाई जनही एकएक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएका थिए । अपहरण गरी ज्यान मारेको भन्दै खैरुलसमेत ५ जना संलग्न भएको खुलेको छ। घटनामा संलग्न भनिएका ४ सर्वसाधारण र ८ मालपोत कर्मचारी गरी १२ जना अझै फरार छन् । आजको अन्नपूर्ण पोष्टमा शंकरप्रसाद खनालले लेखेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 13 =