त्रिवि सेवा आयोगको अन्तर्वार्ता स्थगित : छोरी परीक्षार्थी, बाबु परीक्षक

काठमाडौं, ३ जेठ । सेवा आयोगका एक सदस्यले आपत्ति जनाएपछि त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको शाखा अधिकृतको परीक्षा प्रक्रिया बिहीबार अवरुद्ध भएको छ । सेवा आयोगका पदेन सदस्यसमेत रहेका लोकसेवा आयोग सदस्य ब्रह्मदेव रायले परीक्षा प्रक्रिया स्वच्छ र मर्यादित नभएको भनी आपत्ति जनाउँदै परीक्षा प्रक्रियामा सामेल हुन नसक्ने जनाएका थिए । लगत्तै सेवा आयोगले विशेष सूचना निकालेर परीक्षा स्थगित गरेको हो । 

त्रिभुवन विश्वविद्यालयले गत वैशाख १४ गते उपप्रशासकदेखि सवारीचालक तहसम्मका विभिन्न पदमा लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको थियो । त्यस क्रममा सेवा आयोगका पदाधिकारीदेखि प्रशासकीय प्रमुखका नातेदार उत्तीर्ण भएका थिए । त्रिविसँग सम्बद्ध पदाधिकारी र पहुँचवालाका नातागोतालाई समेत पास गराइएको खुलासा भएको थियो । नातेदार सहभागी परीक्षामा पदाधिकारीहरू सामेल भएपछि उनीहरूमाथि ‘बदनियत राखेको’ आरोप लागेको छ । यसबारे अख्तियारले छानबिन गरिरहेको छ । 

लिखित परीक्षामा सहभागी त्रिवि आयोगका अध्यक्ष चैतन्य शर्मा बिहीबारको अन्तर्वार्तामा समेत सामेल थिए । अन्तर्वार्ता सञ्चालनकै क्रममा पुगेका लोकसेवाका सदस्य रायले परीक्षा मर्यादित हुन नसकेको र अर्को संवैधानिक निकायले छानबिन गरिरहेको अवस्थामा परीक्षा प्रक्रिया अघि बढाइए आफू सहभागी नहुने चेतावनी दिएका थिए । उनले औपचारिक सूचनामा भने कार्यव्यस्ततालाई कारण देखाएका थिए । त्यसपछि अध्यक्ष शर्माले आफू परीक्षामा सामेल नहुने बताए । 

null

त्यसपछि परीक्षा स्थगित भएको हो । रायले कान्तिपुरसँग समेत व्यस्त भएकाले सहभागी हुन नसकेको बताए । लोकसेवाका सदस्य त्रिवि आयोगको पदेन सदस्य रहने प्रावधान छ । त्रिवि आयोगले प्राविधिक कारण भन्दै शाखा अधिकृत पदको अन्तरवार्ता अर्को सूचना प्रकाशित नगरेसम्मका लागि स्थगित गरिएको जनाएको छ । बिहीबार उपप्रशासक र आर्थिक उपनियन्त्रकको भने अन्तरवार्ता भएको छ । खुला प्रतिस्पर्धाबाहेक प्राध्यापकहरूको अन्तर्वार्ता पनि सुचारु छ । 

लिखित परीक्षामा अध्यक्ष शर्मा, प्रशासकीय प्रमुख परशुराम कोइराला, त्रिवि केन्द्रीय क्याम्पसका पि्रन्सिपल कृष्ण आचार्यलगायत पदाधिकारीका नातेदारको नाम निस्केको छ । शर्मा र कोइराला दुवै लिखित परीक्षामा सहभागी थिए । नातेदार सहभागी हुने परीक्षामा सहभागी हुन नपाउने प्रावधान हुँदा हुँदै उनीहरू परीक्षा सञ्चालनमा प्रत्यक्ष सहभागी भएको आयोग स्रोतले जनाएको छ । कान्तिपुरको सम्पर्कमा आएका शर्माले नातेदारको प्रसंग सुरु हुनासाथ ‘घाँटी दुखेको’ भन्दै प्रतिक्रिया दिएनन् तर उनी दिनभर परीक्षार्थीको अन्तर्वार्तामा सामेल थिए । 

कार्यविधि मिचेर परीक्षामापरीक्षाको लिखित नतिजा निस्किए लगत्तै केही परीक्षार्थीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका थिए । अख्तियार स्रोतका अनुसार त्रिभुवन विश्वविद्यालयले जारी गरेको आन्तरिम नियम उल्लंघन हुने गरी पदाधिकारीहरू आफ्ना नातेदार संलग्न प्रक्रियामा सहभागी थिए । ‘यसो गर्नु हुँदैन भनेर जान्दाजान्दै आफ्नै निकायको कार्यविधि मिचेर परीक्षा सञ्चालन गर्ने र उनीहरूलाई उत्तीर्ण गराउने काम बदनियतपूर्ण हो,’ अख्तियार स्रोतले भन्यो । 

अख्तियार स्रोतका अनुसार त्रिवि आयोग आन्तरिक कार्यविधि निर्देशिकाले आफन्त सहभागी परीक्षामा पदाधिकारी र कर्मचारीलाई संलग्न हुन छुट दिँदैन । कार्यविधिको बुँदा ३६ मा नातेदार भनी किटान गरिएका बाबु, आमा, छोरा, छोरी, दाइ, भाउजू, मामा, माइजुलगायत व्यक्ति सामेल परीक्षामा सहभागी हुने पदाधिकारी र कर्मचारी कारबाहीको भागीदार हुन्छन् । ‘कार्यविधिविपरीत पदाधिकारी परीक्षामा संलग्न भए,’ उपकुलपति कार्यालय स्रोतले भन्यो, ‘सबैलाई मिलेमतोमा पास गराउने काम भयो ।’ 

परीक्षामा शर्माकी भतिजी पार्वती सापकोटा र कोइरालाकी छोरी नमिता शाखा अधिकृतमा सफल भएका छन् । यसबाहेक त्रिवि कर्मचारी, विद्यार्थी संघसंगठनका ५० जनाभन्दा बढीलाई सेटिङ मिलाएर विभिन्न परीक्षामा सफल गराइएको स्रोतको दाबी छ । शर्मा, सदस्य चिन्तामणि पोखरेल र प्रमुख कोइरालाले नातेदारबाहेक पहुँचवालाको सिफारिसमा पास गराउनुपर्ने उम्मेदवारहरूको सूची नै बोकेर हिँडेको स्रोतले जनाएको छ । अनियमित तरिकाले सार्वजनिक गरिएको नतिजाको चौतर्फी विरोध हुँदैआएको छ । 

प्रशासकीय प्रमुख कोइरालाले प्राविधिक कारणले शाखा अधिकृतको अन्तर्वार्ता स्थगित गरिएको प्रतिक्रिया दिए । ‘अन्य अन्तर्वार्ता पूर्वसूचनाअनुसारै हुन्छ,’ टेलिफोनमा उनले भने । छोरी सम्मिलित परीक्षामा किन सहभागी हुनुभएको भने प्रश्नपछि उनले ‘गाडीमा छु, कुरा बुझिएन, पछि कुरा गरौंला’ भनेर फोन काटे । सोही विज्ञापनका लागि त्रिवि आयोगले सबै पदको अन्तर्वार्ताको समय तालिका प्रकाशित गरिसकेको छ । 

नैतिकतामा प्रश्नसेवा आयोगकै अध्यक्ष, प्रशासकीय अधिकृत आफ्ना सन्तान सहभागी परीक्षामा संलग्न हुनु नैतिकताको प्रश्न मात्र होइन, अनुचित कार्यसमेत हो । ‘न्याय गरेर मात्रै हुँदैन, देख्नेले पनि त्यसलाई स्वीकार गर्ने हुनुपर्छ,’ प्रशासनिक अदालतका अध्यक्ष काशीराज दाहालले परीक्षा प्रक्रियामा नातेदार जोडिएको एक मुद्दाको फैसलामा लेखेका थिए, ‘अरूले सामान्य रूपमा पनि प्रश्न उठाउने अवस्था छ भने निर्णय प्रक्रियाबाट आफू अलग रहनुपर्ने हो ।’ 

दाहालसहित तत्कालीन सदस्य कुमार योञ्जन तामाङ र दुर्गानिधि शर्माको इजलासले नातेदार जोडिएको घटनामा जोडिएका निजामती कर्मचारीमाथि भएको कारबाहीको निर्णय सदर गरेको थियो ।संवैधानिक कानुनका ज्ञाता दाहालका अनुसार आफ्नो स्वार्थ जोडिने परीक्षार्थी संलग्न परीक्षाको प्रक्रियामा संलग्न पदाधिकारीहरू कारबाहीका लागि त योग्य हुन्छन् नै, सम्बन्धित नातेदारको परीक्षासमेत रद्द गर्नु अन्य परीक्षार्थीका लागि न्यायोचित हो । 

उनले कान्तिपुरसित भने, ‘हामीले यस्ता विवाद जोडिएका मुद्दामा सामेल पदाधिकारी र कर्मचारीलाई कारबाहीका लागि भएको निर्णय उचित ठहर्‍याएका छौं । यस्ता घटनामा अन्य परीक्षार्थीले अन्यायमा परेको महसुस गर्नु हुँदैन ।’ हाल महालेखा नियन्त्रक रहेका सूर्यप्रसाद गौतम परिवारका सदस्य संलग्न परीक्षामा सामेल भएका कारण विभागीय कारबाहीमा परेका थिए । तीन वर्षअघि शाखा अधिकृत टीकाराम ढकालमाथि पनि यस्तै कारबाही भएको थियो । 

श्रीमती वर्षा रेग्मीले २०६९ असोज १२ गते खरिदारको परीक्षा दिइरहेको मीनभवन केन्द्रमा केन्द्राध्यक्ष भई काम गरेकामा लोकसेवा आयोगले उनको दुई वर्ष तलब रोक्का गरेको थियो । उक्त विवाद निरुपणका क्रममा प्रशासनिक अदालतले स्वविवेकीय अधिकारको स्वच्छपूर्वक र उचित प्रयोग गर्नुपर्ने ठहर गरेको थियो । 

‘विषयवस्तुको प्रकृति, तथ्यगत अवस्था र परिस्थितिजन्य स्थितिबाट संलग्न हुने अवस्था छ भने निर्णयकर्ता तटस्थ बस्नुपर्छ,’ फैसलामा भनिएको छ । दुई वर्षअघि काठमाडौं विश्वविद्यालयको चिकित्साशास्त्र स्नातकोत्तर तहको प्रवेश परीक्षामा छोरा सहभागी हुँदा भागवत नेपाल परीक्षा प्रक्रियामा सामेल भएपछि संसदको सुशासन समितिले कारबाही सिफारिस गरेको थियो । आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवाली र सुदीप कैनीले लेखेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =