हजार्डको दुई गोलमा चेल्सी युरोपा लिग च्याम्पियन

एजेन्सी । प्रिमियर लिग प्रतिद्धन्द्धी आर्सनलमाथि फराकिलो जित निकाल्दै लन्डन क्लब चेल्सी युरोपा लिग च्याम्पियन बनेको छ । अजरबैजानको बाकुमा बुधबार राति भएको खेलमा चेल्सीले आर्सनललाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै युरोपा लिग च्याम्पियन बनेको हो ।
चेल्सीको फराकिलो जितमा सम्भवत अन्तिम खेल खेलिरहेका बेल्जियन फरवार्ड इडेन हजार्डले दुई तथा ओलिभर जिरुड र पेड्रो रोड्रिग्वेजको समान १ गोल गरे । आसर्नलका एलेक्स इओवीले एक गोल फर्काए । पहिलो हाफ प्रतिस्पर्धात्मक बनेपनि दोस्रो हाफमा चेल्सीले एकपक्षीय खेल बनाउदा आसर्नल निरिह बनेको थियो । दोस्रो हाफमा चेल्सी छाड्ने तयारीमा रहेका हजार्डले उच्च प्रदर्शन गरेपछि चेल्सीले फराकिलो जित निकाल्न सफल भयो ।
null
दोस्रो हाफको शुरुबाटै आक्रमक फुटबल खेलेको चेल्सीले २३ मिनेटको अन्तरमा ५ गोल हुँदा चेल्सीले ४ गोल गर्दै जित पक्का गरेको थियो । ४९ औं मिनेटमा जिरुडले इमरर्सनको पासमा गोल गर्दै चेल्सीले खेलमा सुरुवाती अग्रता लिएको थियो । ६० औ मिनेटमा पेड्रोले हजार्डको पासमा गोल गदै चेल्सीलाई २–० को अग्रता दिलाए । ६५ औं मिनेटमा हजार्डले पेनाल्टीमार्फत गोल गरेपछि चेल्सी सहज जिततर्फ अग्रसर बनेको थियो । जिरुडलाई आर्सनलका मेटल्यान्ड निल्सले बक्सभित्र लडाएपछि चेल्सीले पेनाल्टीको मौका पाएको थियो । जसलाई हजार्डले कुनै गल्ती गरेनन् ।
६९ औं मिनेटमा एलेक्स इओवीले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याउदै आर्सनललाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, ७२ औं मिनेटमा हजार्डले जिरुडको पासमा गोल गर्दै चेल्सीलाई ४–१ को फराकिलो जित दिलाएर युरोपा लिग च्याम्पियन बनाए । हजार्डको लागि चेल्सीमा यो नै अन्तिम खेल र उपाधि हुने लगभग पक्का देखिएको छ । उनी स्पेनिस महारथी रियल म्याड्रिडमा जाने तयारीमा छन् । हजार्डको विषयमा चेल्सी र रियलबीच सम्झौतानजिक पुगेको बताइएको छ ।








