बायर्नले लगातार जित्यो सातौँ लिग उपाधि

एजेन्सी । बायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको लिगको अन्तिम खेलमा बायर्नले फ्रान्कफर्टलाई ५–१ गोलले हराउँदै उपाधि जितेको हो । उपाधि रक्षा गरेको बायर्नको यो लगातार सातौँ लिग उपाधि हो ।
घरेलु मैदानमा भएको एकपक्षीय खेलमा बायर्नलाई जिताउन किंग्सले कोम्यानले खेलको चौँथो मिनेटमा खाता खोलेका थिए । त्यसपछि डेभिड अल्बाले ५३ औँ, रेनाटो सान्चेजले ५८ औँ, फ्रान्क रिबेरीले ७२ औँ र आयर्न रोबेनले ७८ औँ मिनेटमा एक एक गोल गरेका थिए ।
null
फ्रान्कफर्टका सेवास्टीयन हाल्लरले ५० औं मिनेटमा एक गोल फर्काएका थिए । योसँगै रोबेन र रिबरीले उपाधिसँगै बायर्नका लागि आफ्नो अन्तिम खेल खेले । दुई खेलाडीले बायर्नमा रहँदा संयुक्त रुपमा १५ उपाधि तथा १८५ गोल गरेका छन् ।
त्यस्तै, अर्का खेलाडी रफिनाले पनि यो सिजनको अन्त्यबाट क्लब छाड्ने छन् । अर्को खेलमा उपाधिको दाबेदार बोरुसिया डर्टमन्डले मोन्चेनग्लाडबाचलाई २–० गोलले हरायो । यसका बावजुद डर्टमन्ड लिग उपाधिबाट बञ्चित रह्यो ।
उपाधि विजेता बार्यनले ३४ खेलबाट ७८ अंक बनायो । दुई अंकले पछि पर्दै दोस्रो स्थानमा रहेको डर्टमण्डले ७६ अंक बनायो ।








