धरानमा मे महिनाभरी रक्तचाप नापिँदै

 

बैशाख २९, धरान । मे मेजरमेन्ट मन्थ २०१९ अहिले देशका विभिन्न ठाउँमा रक्तचाप मापन गरी मनाइँदैछ । 

इन्टरनेश्नल सोसाइटी अफ हाइपर्टेन्सनको पहलमा अंग्रेजी मे महिनाभरी देशका भिभिन्न ठाउँहरुमा, विभिन्न संघसंस्थाहरु र स्वयंसेवकको सहयोगमा रक्तचाप नाप्ने कार्यक्रम भइरहेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको (PSRN) सामाजिक उत्तरदायित्वका निम्ति चिकित्सक नेपाल विद्यार्थी एकाइका अध्यक्ष लोकेन्द्र अवस्थीका अनुसार उच्च रक्तचापको प्रमुख कारण अस्वस्थ जीवनशैली हो । यसलाई नियन्त्रण गर्न जीवनशैलीमा परिवर्तन गर्नु आवश्यक छ । 

null

‘चुरोटको प्रयोग पूर्णरुपले बन्द गर्नु उच्च रक्तचाप नियन्त्रणका लागि सबभन्दा राम्रो उपाय हो । यसको अतिरिक्त तौललाई नियन्त्रणमा राख्ने तथा वजन घटाउने, प्रतिदिन शारीरिक गतिविधि गर्ने र नुनिलो खानेकुराहरुको सकेसम्म कम प्रयोग गर्ने लगायतका उपायहरु अपनाउनु पर्छ’, उनले भने । 

धरानमा उक्त एकाइका साथसाथै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. प्रज्वल प्याकुरेलको समूहले पनि रक्तचाप मापन कार्यक्रम चलाइरहेका छन् । 

मधुमेह र मृगौलाका बिरामीहरु, ३५ बर्ष नाघेका व्यक्तिहरु खासगरी पुरुष, ज्यादै मोटाएका, धूम्रपान मध्यपान गर्ने, उच्च मानसिक चिन्ता र तनावमा रहने, उच्च रक्तचापको पारिवारिक पृष्ठभूमि भएका, नुनको अधिक प्रयोग गर्ने, परिश्रम तथा व्यायाम नगरी आरामदायी जीवन बिताउने व्यक्ति र गर्भवती महिलामा उच्च रक्तचापको जोखिम बढी हुने डा. प्याकुरेल बताउँछन् । 

सोही अभियानमा संलग्न स्वयम् सेविका नर्स अनुपा अर्याल भन्छिन्, ‘धेरैजसो मानिसमा उच्च रक्तचाप हुँदापनि कुनै बाहिरी समस्याहरु नदेखिन सक्छन् । तर टाउको दुख्दा, कान कराउँदा, आँखा राम्ररी नदेखेमा, छाती दुखेमा, रिंगटा लागेमा र खुट्टा सुन्निने जस्ता लक्षणहरु देखिएमा तुरुन्त रक्तचाप नाप्नुपर्छ । 

जीवनशैलीमा परिवर्तन गर्दै चिकित्सकको सल्लाह अनुसार औषधि नियमित रुपले खानु र समय समयमा आवश्यक जाँच गर्नु नै रक्तचाप नियन्त्रणको मुल सुत्र हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *