प्रिमियर लिग: न्यु क्यासलमाथि लिभरपुलको संघर्षपुर्ण जित

एजेन्सी । लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थनमा उक्लिएको छ । लिभरपुलले न्यु क्यासल युनाइटेडमाथि ३–२ को संघर्षपुर्ण जित निकालेको हो । लिभरपुलको जितमा भर्जिल भान डाइक, मोहम्मद सलाह र डिभक ओरिजीले गोल गरेका थिए । न्यु क्यासलका क्रिस्टियन अट्सु र जोसे सलोमन रन्डमले गोल गरेका थिए ।निकै नै रोमाञ्चक बनेको खेलमा लिभरपुलले खेलको १३ औं मिनेटमा भर्जिल भान डाइकको गोलबाट खेलमा अग्रता बनाएको थियो । उनले ट्रेन्ट एलेक्सन्डर अर्नोल्डको पासमा हेडमार्फत गोल गरेका थिए । त्यस्तै, २० औं मिनेटमा क्रिस्टियन अट्सुले घरेलु टोलीका लागि बराबरी गोल फर्काए ।
२८ औं मिनेटमा मोहम्मद सलाहले अर्नोल्डकै पासमा गोल गर्दै लिभरपुललाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । त्यसअघि २६ औं मिनेटमा न्यु क्यासलका पेरेजको प्रहार बारमा लागेर फर्किएको थियो । ५४ औं मिनेटमा जोसे सलोमनले खेललाई पुन २–२ गोलको बराबरीमा ल्याए । जेभियर माक्विलोको कर्नरमा लिभरपुलका खेलाडीले क्लियर गर्न नसकेको बललाई सलोमनले जाली चुमाउदा गोलरक्षक एलिसन बेकरले रोक्ने कुनै मौका नै पाएनन् ।निकै प्रतिस्पर्धात्मक बनेको खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका डिभक ओरिजीले गोल गर्दै लिभरपुललाई ३–२ को महत्वपुर्ण जित दिलाए । ओरिजी ७३ औं मिनेटमा फरवार्ड मोहम्मद सलाहको स्थानमा मैदानमा प्रवेश गरेका थिए । मोहम्मद सलाह इन्ज्युरी हुदै मैदानबाट बाहिरिनु परेको थियो । महत्वपुर्ण जितसँगै लिभरपुलले शीर्ष स्थानमा २ अंकको अग्रता लिदै उपाधिका लागि म्यानचेस्टर सिटीमाथि दवाव बढाएको छ । लिभरपुलको ३७ खेलबाट ९४ अंक रहेको छ । एक खेल कम खेलेको सिटीको ९२ अंक छ । सिटीले सोमबार राति लेस्टर सिटीसँग खेल्दैछ । लिभरपुललाई प्रिमियर लिग च्याम्पियन बन्न बाँकी एक खेलमा जित निकाल्नुका साथै सिटीले अंक गुमाउने पर्ने हुन्छ । अन्तिम खेलमा लिभरपुलले वल्भ्ससँग १२ मे मा प्रतिस्पर्धा गर्दैछ । सिटीले लेस्टर सिटी र ब्राइटनसँग खेल्न बाँकी छ ।








