अर्जेन्टिनी स्टार मेस्सी क्याटलान अवार्डबाट सम्मानित

एजेन्सी । अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई क्याटलान सरकारले ‘क्रेउ डे सान्ट जोर्डी–२०१९’ अवार्डबाट सम्मान गरेको छ । बार्सिलोनाका कप्तान मेस्सीलाई फुटबलको माध्यमबाट क्याटलान क्षेत्रको प्रतिष्ठा विश्वभर फैलाएको भन्दै यस अवार्ड प्रदान गरिएको हो ।
स्पेनको एक स्वायत्त क्षेत्रका रूपमा मान्यता प्राप्त क्याटलान सरकारले प्रदान गर्ने यस अवार्ड ‘क्याटलान अवार्ड’का नामले पनि परिचित छ । यस अवार्डलाई क्याटलान सरकारको सबैभन्दा सम्मानित र ठूलो अवार्ड मानिन्छ । फुटबलका माध्यमबाट क्याटलानको समृद्धिमा योगदान दिएको, विभिन्न च्यारिटी तथा सामाजिक कार्यमार्फत समाजलाई उच्च योगदान दिएकाले मेस्सीले यस अवार्डको हकदार बनेको उल्लेख गरिएको छ । क्याटलानका राष्ट्रपति क्विम टोरराले मेस्सीलाई अवार्ड प्रदान गरेका थिए ।
null
अवार्ड ग्रहण समारोहमा मेस्सी परिवारसहित गएका थिए । यस अवार्ड पाउने मेस्सी दोस्रो फुटबलर बनेका छन् । यसअघि सन् २००६ मा फुटबलर जोन क्रुइजफलाई यस अवार्ड प्रदान गरिएको थियो । अवार्ड समारोहमा बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउलगायत क्लबका अन्य अधिकारी पनि सहभागी थिए । युरोपियन च्याम्पियन्स लिगबाट बार्सिलोना बाहिरिएपछि केही निराश देखिएका मेस्सी यस अवार्ड थाप्दा हँसिलो देखिन्थे ।








