यस्ता छन्, आजका पत्रपत्रिकामा प्राथमिकतामा परेका समाचार

काठमाडौं, ५ जेठ । तपाईं घरमा कुखुरा बाख्रा किन पाल्नुहुन्छ ? मासु खान वा बेचेर पैसा आर्जन गर्न । तर, गोरखाको चुमनुब्री गाउँपालिकाको एउटा वडाले भने पशुपंक्षी काटमार गरेमा वा मासु खाएमा ५० हजार जरिवाना गर्ने नियम बनाएको छ । त्यतिमात्रै होइन, कसैले पशुपंक्षी किनेमा पनि ५० हजार जरिवानाको कारबाही भोग्नुपर्छ । यस्तो अचम्म लाग्दो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।
कान्तिपुर दैनिकमा वडा कार्यालय भवन बनाउन पशुपति क्षेत्रस्थित संस्कृत माध्यमिक विद्यालय (नेपाल वेद विद्याश्रम)को जग्गामा काठमाडौं महानगरपालिकाले डोजर लगाएको समाचार छ । समाचारमा लेखिएअनुसार पशुपति क्षेत्र विकास कोष र महानगरपालिकाको मिलेमतोमा विद्यालयको करिब एक रोपनी जग्गा कब्जा गरेर वडा नम्बर ८ को कार्यालय भवन बनाउन लागिएको हो ।
null
राजधानी दैनिकले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुको लापरवाहीलाई उजागर गरेको छ । पास भएका विद्यार्थीको मार्कसिटमा पनि फेल भएकाको जस्तो तारा चिह्न राखेर परीक्षा नियन्त्रण कार्यालयले लापरवाही गरेको हो ।
नयाँ पत्रिका दैनिकका अनुसार सरकारलाई सघाएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उजुरी परेको छ । गोरखाका महासमिति सदस्य राजेन्द्र बजगाईंले सभापतिविरुद्ध पार्टी कार्यालयमा उजुरी दर्ता गराएका हुन् । समाचारमा कांग्रेसका शीर्ष तहदेखि तल्लो तहका नेताहरुसम्म परेका उजुरीहरुलाई समेटिएको छ । रामचन्द्र पौडेल, गोविन्दराज जोशी, त्रिवि उपकुलपति तीर्थ खनियाँलगायतविरुद्ध उजुरी परेको समाचारमा उल्लेख छ । अनुशासन समितिका सभापति भिष्मराज आङदेम्बेले प्रमाण पुगे जुनसुकै स्तरका नेतामाथि पनि कारबाही हुने बताएका छन् ।
कारोबार दैनिकले अमेरिका-चीन व्यापारयुद्धले नेपालमा परेको प्रभावलाई केलाउने प्रयास गरेको छ । संयुक्त राज्य अमेरिका र चीनबीच आठ महिनादेखि जारी व्यापार युद्धले नेपाललाई झस्काएको छ । अर्थतन्त्रका बाह्य क्षेत्रमा निरन्तर असर गरेपछि राष्ट्रिय योजना आयोगले नियमित निगरानी र अनुगमन थालेको छ ।
नेपाल समाचारपत्र दैनिकका अनुसार वागमती नदी किनारको क्षेत्रलाई सुन्दर बनाउने अभियानबाट मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी) हट्ने भएको छ । यससँगै सौन्दर्य अभियान पनि अलपत्र पर्ने समाचारमा उल्लेख छ ।
नागरिक दैनिकले भारतीय पक्षले निर्माण गरिरहेको सडकबाट नेपालको दार्चुलास्थित ब्याँस गाउँपालिकाको सडकमा क्षति पुगेको विषयलाई मुख्य समाचार बनाएको छ । समाचारमा लेखिएअनुसार सडक निर्माणमा भारतीय पक्षले जिलेटिन प्रयोग गरिरहेको छ । विष्फोटले ठूल्ठूला ढुंगा महाकाली नदीमा खसेर नदीको बहावसमेत रोकिएको छ ।








