आफ्नालाई जागिर खुवाउने काइदा: पद र परीक्षा उहीँ तर प्रश्नपत्र फरक

काठमाडौं, १७ जेठ । पद उही । परीक्षा उही । हल उही । तर, प्रश्नपत्र फरक । यस्तो कहाँ हुन्छ ? अन्यत्र नभए पनि नेपाल रेडक्रसमा हुँदो रहेछ । रेडक्रसले परीक्षा लिएर छैटौं तह लेखा अधिकृत नियुक्ति गरेको एक वर्ष हुन लाग्यो । आफ्ना मान्छे पास गराउन त्यो परीक्षामा भएको बेइमानी भने बल्ल खुलेको छ । त्यसमा उही हलमा बसेका परीक्षार्थीलाई फरक प्रश्नपत्र दिइएको पाइएको छ । एउटा २० अंकको बाहेक अरू प्रश्न भने दुवैमा मिल्छन् । द्वितीय पत्रको नेपाली खण्डको १ नम्बरमा एउटा प्रश्नपत्रमा आन्तरिक लेखा परीक्षणबारे प्रश्न छ । अर्कोमा अन्तर्राष्ट्रिय व्यापारबारे । 

 

प्रश्न फरक बन्नुको प्रकरण भने गम्भीर छ । छैटौं तहको लेखा र प्रशासनको परीक्षा उही दिन उही समय (२०७५ असार २ गते बिहान ८ बजेदेखि) भएको थियो । प्रशासनको एक प्रतिस्पर्धीलाई लेखा समूहको, त्यो पनि फरक प्रश्न दिइयो । उनको परीक्षा बिग्रियो । उनलाई षड्यन्त्रपूर्वक असफल गराएर सफल बनाइयो तत्कालीन अध्यक्ष सञ्जीव थापाकी भतिजी प्रतीक्षा थापालाई । उनी सञ्जीवका कान्छा भाइ राजीवकी छोरी हुन् । राजीव उदयपुरमा रेडक्रस उपशाखाका सभापति छन् । ती परीक्षार्थीलाई प्रशासनकै प्रश्न परेको भए थापाले सम्भवतः पास गर्ने थिइनन् । 

null

यसबारे रेडक्रस केन्द्रीय पदपूर्ति समितिका तत्कालीन सभापति सुरेन्द्र ऐरले फरकफरक प्रश्नपत्रको प्रकरण स्वीकारे । ‘अन्तिम घडीमा प्रश्नपत्रको एउटा प्रश्न स्तर नमिल्ने ठानियो । त्यसलाई फेरियो । पुरानो प्रश्नपत्र पनि थाकमै छुटेछ र प्रशासन समूहको एक परीक्षार्थीलाई परेछ’, उनले भने, ‘उनको परीक्षा कमसल भयो । उनले रेडक्रसमा उजुरी पनि दिएका छन् ।’ तर, न उनको सुनुवाइ भयो । न परीक्षा रद्ध गरियो । यति ठूलो बदासीलाई प्राविधिक त्रुटिका नाममा अलमल्याउँदै आइएको छ । 

उता लेखातर्फ छैटौं तहमा उत्तीर्ण अविनास तामाङ रसुवा सभापति बाबुलाल तामाङका भतिज हुन् । ‘दोहोरो प्रश्नपत्रको एउटै तीरले केन्द्रीय अध्यक्ष र जिल्ला सभापतिका भतिजी/भजितालाई पास गराइयो’, रेडक्रसका एक उच्च अधिकारीले भने, ‘आफ्नालाई सजिलो, अरूलाई जटिल प्रश्न दिइयो । फसाइयो ।’ परोपकारी संस्था रेडक्रसमा अनियमितता अनियन्त्रित भएपछि थापा नेतृत्वको समितिलाई हालै सरकारले विघटन गरेको छ । एक वर्षभित्र चुनाव गराउने गरी डा. विश्वकेशर मास्केको अध्यक्षतामा तदर्थ समिति बनाएको छ । 

त्यसको उपाध्यक्षमा कृष्ण गौतम, महामन्त्री कमल निरौला, कोषाध्यक्ष सीताराम कोइराला, सदस्यमा दीपेन्द्र ढकाल, दीपक मिश्र, लोकराज ढकाललगायत छन् । रेडक्रसका सात आधारभूत सिद्धान्त छन्– मानवता, निष्पक्षता, तटस्थता, स्वाधीनता, एकता, विश्वव्यापकता र ऐच्छिक सेवा । यिनै सिद्धान्तलाई आत्मसात् गर्दै रेडक्रस विश्वव्यापी रूपमा परोपकारमा सक्रिय छ । नेपालमा भने ती सबै सिद्धान्त मिच्ने गरिन्छ । अन्नपूणृ पोष्टमा खबर छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − three =