छापामा आज: जतापनि मोदीकै चर्चा, ८ हजार पदमा विज्ञापन आह्वान

काठमाडौं, १० जेठ । भारतीय लोकसभा निर्वाचनको मतपरिणाम आजका सबैजसो दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा परेको छ । पत्रपत्रिकाहरुले भारतीय जनता पार्टीको फराकिलो जित र कांग्रेसको अनपेक्षित हारलाई विभिन्न शीर्षकमा उतारेका छन् । यो परिणामले नेपालको राजनीतिमा पर्ने असरबारे पनि पत्रपत्रिकाहरुले केलाएका छन् ।
कान्तिपुरले ‘फेरि मोदीकै वर्चस्व’ शीर्षक दिएर भारतीय जनता पार्टी (भाजपा) एक्लैले बहुमत हासिल गरेको लेखेको छ । कांग्रेसले अघिल्लो निर्वाचनको तुलनामा केही सुधार गरे पनि हार अनपेक्षित भएको उसको विश्लेषण छ । भाजपा फेरि किन दोहोरियो ? यसका अनेक विश्लेषण भइरहेको छ । यसबारे पनि कान्तिपुरले चर्चा गरेकाे छ । कान्तिपुर लेख्छ, सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमहरुलाई परिचालन दगर्ने सवालमा पनि भाजपा अन्य पार्टीभन्दा निकै अगाडि रह्यो । पार्टी र सरकारविरुद्ध सामाजिक सञ्जालमा कुनै पनि टिप्पणी देख्नासाथ त्यसविरुद्ध पार्टीपंक्ति खनिन पुग्थ्यो । प्रधानमन्त्री मोदीको सार्वजनिक छवि उँचो बनाउन मूलधारका छापा माध्यमदेखि टीभीमा बलिउडका कलाकारलगायत सेलिब्रेटीलाई अन्तर्वार्ता लिन लगाइएको थियो ।’ त्यस्ता अन्तर्वार्ता मोदी सरकारको पाँचवर्षे शासनभन्दा पनि जीवनशैलीमा केन्द्रित भएकाे र त्यसको प्रभाव चुनावमा परेको कान्तिपुरको विश्लेषण छ ।
null
अन्नपूर्णले पनि भाजपा जितलाई नै मुख्य समाचारका रुपमा समेटेको छ । अन्नपूर्णका अनुसार १४ राज्य र केन्द्र शासित प्रदेशमा क्लिन स्विप भएको छ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना केही समयदेखि लफडामा फसेको छ । अन्नपूर्णले यसबारे पनि आज एक सामग्री छापेको छ । समाचार अनुसार आयोजनाको बाँकी कामका लागि ठेक्का लगाउने तयारी भएको छ । राज्यलाई थप २ अर्ब ५२ करोड रुपैयाँ भार पर्ने गरी ठेक्का लगाउन खोजिएको अन्नपूर्ण समाचारमा उल्लेख छ ।
नागरिकले कांग्रेसको जारी जागरण अभियानबारे समाचार लेखेको छ । नागरिकका अनुसार, संगठन सुदृढीकरण र सरकारको भण्डाफोर गर्ने भन्दै सुरु गरिएको अभियान संगठनमा आफ्नो प्रभाव कसरी विस्तार भन्नेमा केन्द्रित भएको छ । नागरिक लेख्छ– शीर्ष नेताहरु एक अर्कालाई कमजोर देखाएर नेतृत्वमा पुग्ने र टिक्ने दाउमा सक्रिय हुँदा जागरण अभियान संगठन सुधारमा भन्दा गुटगत स्वार्थमा केन्द्रित देखिएको छ’, नागरिकले जागरण अभियानबारे विश्लेषण गर्दै लेखेको छ ।
लोकसेवा आयोगले आगामी १५ जेठमा पहिलो चरणअन्तर्गत ८ हजार पदमा कर्मचारी भर्नाका लागि विज्ञापन आह्वान गर्ने भएको खबर राजधानीमा छ । गोरखापत्रले ‘भारतमा मोदी पुनः प्रधानमन्त्री बन्ने निश्चित’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ ।








