१३ औं साग प्रतियोगितामा नेपालले धेरै पदक जित्नेछः खेलकुदमन्त्री

बैशाख २७, काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) ले १३ औं सागको तयारीमा सरकार जुटिरहेको स्पष्ट पारेका छन् ।
शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खेलकुदमन्त्री विश्वकर्माले आगामी डिसेम्बर १ देखि १० तारिखसम्म हुने उक्त प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्ने गरी सरकारले तयारी गरेको स्पष्ट पारेका हुन् ।
null
उनले सरकारको आर्थिक वर्ष २०७६/७७ सालको नीति तथा कार्यक्रममा पनि १३ औँ साग प्रतियोगिताबारे उल्लेख गरिएको जानकारी दिए ।
‘हामीले तेस्रो पटक सागको आयोजना गर्दैछौं । १३ औं साग हाम्रो लागि गौरवको विषय हो । यसका लागि सम्बन्धित पक्ष जुटिसकेको छ । यो प्रतियोगिताको विगतलाई हेर्दा पनि हाम्रो गर्विलो इतिहास छ’, मन्त्री विश्वकर्माले भने, ‘१९९९ मा नेपालले दोस्रो स्थान हासिल गरेको थियो । १८ औं एशियन गेममा पनि नेपालले ३३ औं स्थान हासिल गरेको थियो । नेपालले २० वर्षपछि रजत पदक हासिल गरेका थियो ।’
मन्त्री विश्वकर्माले सिमित स्रोत र साधनको बाबजुद पनि नेपालले खेलकुद क्षेत्रमा प्रगति गरिरहेको स्पष्ट पारे । उनले भने, ‘हाम्रो उत्साहजनक र गौरव गर्नसक्ने इतिहास छ । अझै गौरव गर्न लायकको अवस्था बनिरहेको छ ।’
उनले यो प्रतियोगितमा धेरैभन्दा धेरै पदक जित्ने दाबी गर्दै भने, ‘हामी उच्च मनोबल र ठूलो लक्ष्य राखेर अघि बढिरहेका छौँ । खेलाडी छनौट गरिसकेपछि हामी बन्द शिविरमा राखेर आवश्यक प्रशिक्षण पनि दिनेछौँ । जेठसम्म सबै काम सम्पन्न गरिसक्छौं।’
प्रतियोगितामा २७ वटा खेलको आयोजना गरिने छ । सरकारले प्रतियोगितालाई लक्षित गर्दै भूकम्पपछि भत्किएका दशरथ रंगशालाको पुनर्निर्माणका काम तीव्र अगाडी बढाएको छ । सातदोबाटोको पौडी पोखरीको पनि निर्माण कार्य सम्पन्न भइसकेको छ । सातदोबाटोकै तेक्वाक्दो र कराँतेको हलपनि निर्माण भइसकेको छ ।
पोखरा रंगशाला निर्माण तीव्र गतिमा भइरहेको सुनाउँदै उनले असार मसान्तसम्म सबै संरचनाको निर्माण कार्य सम्पन्न गरिसक्ने दाबी गरे ।
त्यस्तै उनले ७ वटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको आधुनिक रंगशाला बनाउने र ७५३ वटै स्थानीय निकायमा एउटा एउटा खेलग्राम बनाउने पनि योजना रहेको सुनाए । त्यसको लागि आगामी बजेटमै सबै कुराको उचित व्यवस्था गरिने पनि उनले स्पष्ट पारे ।
खेलकुद क्षेत्रको विकासको लागि सरकारी, निजी तथा गैरसरकारी सबैले मिलेर सहकार्य गर्नुपर्ने पनि उनले आवश्यकत्ता औंल्याए ।
सरकारले खेलाडीको सेवा र सुविधामा पनि विशेष ध्यान पु¥याएको मन्त्री विश्वकर्माको दाबी छ । उनले भने, ‘स्वर्ण पदक विजेताहरुलाई सरकारले आजीवन मासिक ५ हजार सम्मान भत्ता प्रदान गर्दै आएको छ ।’








