काठमाडौं उपत्यकामा बन्दको आंशिक प्रभाव

 

जेठ १३, काठमाडाैँ ।  नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले आव्हान गरेको बन्दको प्रभाव काठमाडौं उपत्यकासहित देशभर परेको छ । 

काठमाडौं उपत्यकामा यसअघि विप्लव समूहको बन्दले खासै प्रभाव पार्दैन थियो । तर, आइतबार चार जनाको ज्यान जाने गरी भएको शृंखलाबद्ध बम विस्फोटका कारण बन्दको प्रभाव विगतको भन्दा केही बढी परेको छ । 

null

 

आइतबार उपत्यकामा श्रृंखलाबद्ध बम विस्फोटपछि सरकारले सुरक्षा व्यवस्था मजबुत पारेको भन्दै सर्वसाधारणलाई आश्वस्त पार्ने प्रयास गरे पनि बन्दको त्रास उपत्यकामा देखिएको छ । अन्य दिनभन्दा आज निकै कम सवारी साधन चलेका छन् । 

निजी सवारी साधनहरु सडकमा केही बाक्लो देखिए पनि सार्वजनिक गाडीहरु कम चलेका छन् । निर्वाध रुपमा सवारी नचल्दा बिहानैदेखि जनजीवन प्रभावित भएको छ । सीमित मात्रामा चलेका सवारी साधनमा कोचिएर यात्रा गर्न यात्रुहरु बाध्य भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार, उपत्यकाको सवारी आवागमन सोमबार बिहानैदेखि केही प्रभावित भएको छ । सडकमा सवारी गुडिरहेका भए पनि अन्य दिनभन्दा आज बिहानैदेखि कम सवारी चलेको महाशाखाको भनाइ छ । 

काठमाडौंबाट उपत्यका बाहिर जाने सवारी साधन बन्दको मारमा परेका छन् । त्रासले पृथ्वी, अरनिकोलगायतका राजमार्ग सुनसान जस्तै बनेका छन् । महाशाखाका अनुसार, उपत्यकाका नाकाबाट कुनै पनि सवारी बाहिरिएका छैनन् । 

यद्यपि, रात्रि बस भने उपत्यकाबाट बाहिरिएका थिए । पृथ्वी राजमार्गलगायतका विभिन्न स्थानमा बम तथा शंकास्पद वस्तु भेटिएपछि स्कर्टिङ गरेर रात्रिबसलाई गन्तव्यतर्फ पुर्याएको प्रहरीले जनाएको छ । 

बन्दको प्रभाव उपत्यकाका शैक्षिक संस्थाहरुमा पनि परेको छ । कलेजहरुका कक्षाहरु भएका छैनन् भने विद्यालयहरुले पनि बालबालिकालाई विद्यालय नपठाउन अभिभावकहरुलाई सूचित गरेका छ । 

 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *