‘आफ्नै आय–आर्जनको स्रोत नहुने नेताले भ्रष्टाचार गर्छन्’

 

बैशाख २५, विराटनगर । पूर्वी नेपालमा जन्मिएर सुनसरीको इटहरीबाट प्राथमिक शिक्षा आर्जन गरेका युवा नेता एवम् युवा उद्यमी सरोज दुलाल राजनीति गर्नेहरुका लागि गतिलो उदाहरण बनेका छन् । 

धरानको महेन्द्र क्याम्पसबाट बि.बि.एस र त्रिभुवन विश्व विद्यालयबाट स्नातकोत्तर सम्मको उच्च शिक्षा हासिल गरेका उनले नेताहरुले चरम भ्रष्टाचार गर्छन् भन्ने भ्रमलाई चिरेर एक आदर्शवान् नेताका रुपमा आफ्नो परिचय स्थापित गरेका छन् । 

null

बाल्यकालदेखि नै विश्वेश्वर प्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादबाट प्रेरित भएका उनी कक्षा ६ मा अध्ययन गर्दै गर्दा नेपाल विद्यार्थी संघमा आबद्ध भए । त्यहाँ उनले संगठनको विभिन्न तह र तप्कामा बसेर कुलश नेतृत्व प्रदान गरिसकेका छन् । 

२०४६ सालमा पञ्चायत विरुद्धको आन्दोलनमा प्रजातन्त्र प्राप्तीका लागि र ०६२/०६३ को जनआन्दोलनमा गणतन्त्र प्राप्तीका लागि अग्र पंक्तिमा रहेर आन्दोलनको मोर्चा सम्हालेका दुलालले नेपाल विद्यार्थी संघको जिल्ला कमिटी, अञ्चल कमिटीको नेतृत्व पनि गरिसकेका छन् । 

साहित्यमा पनि विशेष रुची राख्ने युवा नेता तथा उद्यमी दुलालका थुप्रै लेख तथा रचनाहरु प्रकाशित छन् । पत्रकारिता क्षेत्रमा पनि उनको विशेष लगाव उत्तिकै छ । पत्रकारिताको समेत अनुभव बटुलेका दुलाललाई बहुप्रतिभाका धनी व्यक्तित्वका रुपमा पनि लिन सकिन्छ । दुलाल नेपाली कांग्रेस निकट किसान संघको केन्द्रीय पार्षद् भइसकेका छन् । उनी आगामी महाधिवेशनबाट सभापतिको दावेदार पनि हुन् । 

 

शिक्षित, प्रभावशाली र प्रखर युवा नेताका रुपमा चिनिँदै आएका नेता दुलाल राजनीतिलाई पेसा नभइ केवल सेवाको रुपमा लिन्छन् । विद्यमान समाज परिवर्तनका लागि राजनीतिको बाटो रोजेका उनी वर्तमान राजनीति बिग्रँदै गएको बताउँछन् । उनले भने, ‘वर्तमान राजनीति बिग्रीएको छ, जुनसुकै पार्टी किन नहोस् । चाकडी, चाप्लुसी, नातावाद र कृपावाद्ले राजनीति क्षेत्र जेलिएको छ । यसले गर्दा देश र जनताका लागि केही गरौँ भन्ने सोच बनाएका हामी जस्ता कार्यकर्ता ओझेलमा परेका छौँ ।’  

जेसिस, रेडक्रस, लायन्स क्लब लगायत विभिन्न संघ संस्थामा आवद्ध भएर समाज सेवामा पनि सधैँ अग्रसर बन्दै आएका दुलाल कृषि क्षेत्रको विकासविना मुलुकको समृद्धि कल्पनै गर्न नसकिने बताउँछन् । उनी भन्छन्, ‘विरोधका लागि विरोध होइन । यहाँ मुलुक समृद्धिको कुरा गरिएको छ । सरकारले देशको समृद्धि गर्छु भन्छ तर कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा बढी कृषि क्षेत्रले योगदान दिएपनि कृषि क्षेत्रलाई नै उपेक्षा गर्दै आएको छ । कृषि क्षेत्रको विकासविना कसरी समृद्धि हुन्छ ?’ 

राजनीति गर्ने मान्छेले बेरोजगार नबसी कुनै न कुनै रुपले आम्दानीको स्रोत बनाउनुपर्छ भन्ने सोचाइ राख्ने उनी आम्दानीको स्रोत नहुने व्यक्ति राजनीतिमा लाग्दा भ्रष्टाचार मौलाउने बताउँछन् । 

 

‘राजनिति केवल सेवा मात्र हो । यो पेशा होइन । त्यसैले आफ्नो छुट्टै आम्दानीको स्रोत हुनैपर्छ । राजनीतिलाई पेशा बनाउने व्यक्तिले भ्रष्टाचार नगरि जीवन धान्न सक्दैन । किनकी उसँग आम्दानीको बाटो हुँदैन’, उनी भन्छन्, ‘अनि देश कसरी उँधोगतितर्फ लाग्छ । जब सम्म राजनीति गर्ने मान्छेले आफ्नै आम्दानीको स्रोत बनाउँदैन तब सम्म भ्रष्टाचार अन्त्य हुनेकुरा कल्पना समेत गर्न सकिँदैन ।’ 

राजनीति गर्ने व्यक्तिले आय आर्जनको स्रोत जुटाउनै पर्छ र कृषि क्षेत्रको उत्थानविना देशले कोल्टे फेर्दैन भन्ने दुलाल अहिले कुशल राजनीतिज्ञसँगै माछापालन व्यवसायी समेत बनेका छन् । 

सानैदेखि राजनीतिमा लागेका दुलाल सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेका कारण आफैँ सो क्षेत्रमा आबद्ध भएको बताउँछन् । उनले किसान संघ मार्फत् कृषि क्षेत्रको उत्थान र विकास, आम कृषकको भलाई र कृषकका अधिकारका लागि खरो रुपमा आवाज उठाउँदै आएका छन् । 

 

उच्च शिक्षा हाँसिल गरेर राजनीतिमा पनि सक्रिय रहेका उनी राम्रो जागिर खाने वा विदेश तिर गएर आनन्दको जीवन बिताउन सक्थे तर, उनले त्यस्तो सोच कहिल्यै बनाएनन् । बरु उल्टै आफूसँग भएको सम्पत्तिको उचित व्यवस्थापन गरेर आफ्नै देशको कृषि क्षेत्रमा केही गरौँ भन्ने उद्देश्य राखेर उनले केही वर्ष अघिदेखि मोरङको धनपालथान गाउँपालिका स्थित दादरवैरियामा ठुलो क्षेत्रफलमा माछापालन व्यवसाय सुरु गरे । ‘मैँले यो फर्म सञ्चालन नगर्दा पनि हुन्थ्यो । तर, कृषि क्षेत्रको उन्नती, कृषकको आवाज उठाउन र कृषकहरुकै हकहितका लागि लड्नकै लागि फर्म सञ्चालन गरेको हुँ’, उनले भने । 

जबसम्म आफैँ कृषि क्षेत्रमा लागिँदैन तबसम्म कृषि क्षेत्र र किसानका लागि केही गर्न सकिँदैन भनेर नै दुलालले आफूसँग भएको सम्पत्तिलाई सदुपयोग गरेर बैंक मार्फत् ऋण झिकी आधुनिक तवरबाट १५ विघा क्षेत्रफलमा माछापालन व्यवसाय सुरु गरेका हुन् । 

उनले शुभ सहयात्री प्रा.लि. कृषि फर्म दर्ता गरेर १५ वटा पोखरिमा माछापालन गर्दै आएका छन् । उद्यमी दुलालले हाल आधादर्जन बढीलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिएर रोजगारी पनि दिएका छन् । निकट भविष्यमा सो पोखरी क्षेत्रमै कुखुरा, बाख्रा, बंगुर, हाँसपालन पनि गर्ने उनको योजना छ । पोखरीबाट ५ देखि ६ लाख किलो माछा उत्पादन गर्ने उनकाे लक्ष्य छ ।  

 

उनले स्वदेशमा उत्पादन भएको माछाको माग बजारमा अत्यधिक भएपनि धान्न नसकिएको बताए । नेपालमा ७५ प्रतिशत बढी भारतीय माछाले बजार ओगटीरहेका बेला सरकारले सो क्षेत्रलाई प्रोत्साहन गरेर उत्पादकत्व बृद्धि गर्न नसकेको उनको गुनासो छ । उनले भने, ‘सरकारले यो क्षेत्रलाई प्रोत्साहन गर्न सकेको छैन । यहाँको माछाले मात्र बजारकाे माग धान्न सकिएको छैन । यसमा धेरै सम्भावना छ तर, सरकार उदासीन छ ।’ 

सरकारले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मार्फत् माछा जोन कार्यक्रम सञ्चालन गरेको भएपनि त्यसको आभाष कृषकहरु सम्म नपुगेको दुलालले बताए । सरकाले माछापालन व्यवसायलाई भुरादेखि दानासम्ममा सहुलियत दिए माछाको परनिर्भरता न्यूनिकरण हुने उनको उनको भनाइ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *