चिउरा चाउचाउले छाक टार्दै आँधीपीडित, सरकारी जग्गा व्यक्तिको नाममा पास

काठमाडौं, २४ चैत्र । आज आइतबार राजधानीबाट प्रकाशित पत्रिकाहरुले विविध विषयलाई प्रमुख समाचार बनाएका छन् । कतिपयले बारा पर्साका आँधीपीडितको समस्यालाई प्रस्तुत गरेका छन् । भने केहिले न्यायाधीशहरुको सम्मेलनमा प्रधानन्यायाधीशको भाषणलाई प्रमुख समाचार बनाएका छन् ।
कान्तिपुर दैनिकले बाराको फेटा गाउँपालिकाका आँधीपीडित चटपटेको भरमा जीवन गुजारिरहेको लेखेको छ । ‘सामुहिक मेस बन्द भएपछि हुरी प्रभावित क्षेत्रका बासिन्दा चिउरा, चाउचाउ, बिस्कुट, भुजा खाएर छाक टार्दैछन् । दाल चामल भए पनि भाँडाकुँडा नहुँदा पकाएर खान पाएका छैनन्,’ कान्तिपुरको समाचारको सार छ ।
null
अन्नपूर्ण पोष्ट दैनिकले गत मंगलबार बेलुकी नेपाल एयरलाइन्सको दुबई उड्न लागेको हवाई जहाजलाई अन्तिम समयमा उड्न नदिएर यात्रुहरुलाई रातभर हवाई जहाजभित्रै राखिएको प्रसंगलाई मुख्य समाचार बनाएको छ । बेलुकी ९ बजे जहाज चढेका करिब १५० जनालालई भोलिपल्ट बिहान ५ः१५ मा मात्र बाहिर निकालिएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायाधीशहरुको राष्ट्रिय सम्मेलनमा दिएको अभिव्यक्तिलाई नागरिक दैनिकले प्रमुख समाचार बनाएको छ । न्यायपरिषदका अध्यक्षसमेत रहेका जबराले न्यायाधीशबाट निकालिएका पीएचडी होल्डरलाई पुनः न्यायाधीशमा सिफारिस गर्नु आफ्नो ‘पवित्र लक्ष्य’ भएको बताएका छन् ।
गोरखापत्र दैनिकले बारा र पर्साका हावाहुरी पीडितको पुनर्वासको कार्ययोजना पाँच दिनभित्र तयार हुने समाचार लेखेको छ । जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले सहरी विकास मन्त्रालयलाई बुधबारसम्म कार्ययोजना ल्याउन भनेको समाचारमा लेखिएको छ ।
राजधानी दैनिकले ललिता निवास जग्गा प्रकरणलाई मुख्य समाचार बनाएको छ । भूमाफियाहरुले सरकारी कर्मचारीलाई प्रभावमा पारेर अर्बौं रुपैयाँ मूल्य बराबरका सरकारी जग्गा व्यक्तिको नाममा पास गरिदिएको पाइएको समाचारमा उल्लेख छ ।
नेपाल समाचारपत्र दैनिकले त्रिभुवन विश्वविद्यालयको बेथितिलाई प्रमुख समाचार बनाएको छ । त्रिभुवन विश्वविद्यालयको गुणस्तर सुधारका लागि युरोपियन युनियनको इरास्मस परियोजनाबाट प्राप्त हुने रकम शिक्षाध्यक्ष प्रा डा सुधा त्रिपाठीले पदको दुरुपयोग गर्दै विदेश भ्रमणमा खर्चिएको समाचारमा उल्लेख छ ।
कारोबार दैनिकले प्रतिव्यक्ति आयमा सत्तारुढ नेकपा र सरकारको प्रक्षेपण बाझिएको विषयलाई प्रमुख समाचार बनाएको छ । समाचारमा लेखिएअनुसार वाम गठबन्धन तत्कालीन एमाले र एमाओवादी चुनावी घोषणापत्रको १० नम्बर बुँदामा १० वर्षभित्र अर्थात् २०८४ सालभित्र नेपालीको प्रतिव्यक्ति आय ५ हजार डलर पुर्याउने प्रतिबद्धता छ । तर, नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हालै बसेको राष्ट्रिय विकास परिषद बैठकले स्वीकृत गरेको १५ औं योजनाको आधारपत्रमा भने अबको करिब ११ वर्षपछि प्रतिव्यक्ति आय २९ सय डलर पुर्याउने उल्लेख छ ।
नेपाल साप्ताहिकले निर्मला पन्तकी आमा दुर्गादेवी पन्तलाई वर्ष व्यक्ति घोषणा गरेको छ । यसैगरी हिमाल साप्ताहिकले बारा र पर्सामा आधीको विषयलाई नै मुख्य खबर बनाएको छ ।








