श्रीलंका आक्रमणको विश्व भरका नेताहरुद्वारा भर्त्सना

एजेन्सी । श्रीलंकामा आइतबार भएको शृंखलाबद्ध बम विस्फोट घटनाप्रति विश्वका नेताले भर्त्सना, निन्दा र दुःख प्रकट गरेका छन् । उनीहरूले रक्तपातपूर्ण आक्रमणलाई ‘सिंगो मानवतामाथिको हमला’ भनी प्रतिक्रिया दिएका छन् । श्रीलंकाको मानवताविरोधी आक्रमणप्रति दुःख व्यक्त गरेकामा अमेरिका, भारत, पाकिस्तान, बेलायत, इजरायल, युरोपेली युनियनलगायत मुलुकका नेता रहेका छन् । 

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटमार्फत समवेदना प्रकट गर्दै वासिङटन श्रीलंकालाई सहयोग गर्न तयार रहेको जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्वीटमा लेखेका छन्, ‘श्रीलंकामा भएको विस्फोटको निन्दा गर्छु, यो क्षेत्रमा यस प्रकारको बर्बरताको कुनै स्थान छैन । भारत श्रीलंकाका नागरिकसँगै उभिएको छ । शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दछु ।’ भारतकै विदेशमन्त्री सुष्मा स्वराजले विस्फोटको घटनालाई नजिकबाट हेरिरहेको जनाउँदै आफ्नो ट्वीटमा लेखेकी छन्, ‘म कोलम्बोस्थित भारतीय उच्चायुक्तसँग लगातार सम्पर्कमा छु, हामी त्यहाँका हरेक अवस्थालाई नजिकबाट नियालिरहेका छौं ।’ 

null

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता मोहम्मद फैजलले आफ्नो मुलुक श्रीलंकाली नागरिकको साथमा उभिएको बताए । उनले टवीट गर्दै भनेका छन्, ‘पाकिस्तान, श्रीलंकाको गिरजाघर तथा होटलमा भएको विस्फोट र आतंकवादी आक्रमणको घोर निन्दा गर्दछ । पाकिस्तानका नागरिक र सरकार यो दुःखद घडीमा श्रीलंकाली सरकार र त्यहाँका मानिसका साथ उभिएको छ ।’ 

यसैगरी, न्युजिल्यान्डका प्रधानमन्त्री ज्यासिन्डा अर्डनले पनि आक्रमणप्रति खेद प्रकट गरेका छन् । उनले भने, ‘न्युजिल्यान्ड सबैखाले आतंकवादी हमलाको घोर भर्त्सना गर्दछ ।’ त्यस्तै, बेलायती प्रधानमन्त्री टेरेसा म्यारी मेले श्रीलंकामा भएको आतंकवादी आक्रमणलाई ‘भयावह’ भनी प्रतिक्रिया दिएकी छन् । उनले भनेकी छन्, ‘यो घटनाबाट प्रभावित भएकाहरूप्रति मेरो गहिरो संवेदना छ ।’ 

इजरायलले विज्ञप्ति जारी गर्दै विस्फोट घटनाबाट सरकार दुःखी भएको जनाएको छ । ‘मारिएकाको आत्माको शान्ति र घाइतेको शीघ्र स्वास्थलाभको हामी कामना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । त्यस्तै, रूसका राष्ट्रपति भ्लादिमिर पुतिनले आफ्ना श्रीलंकाली समकक्षीलाई प्रेषित गरेको शोक सन्देशमा भनेका छन्, ‘मस्को आतंकवादविरुद्धको युद्धमा श्रीलंकाको विश्वासिलो साझेदार बनिरहनेछ । रूसका नागरिक मृतक परिवारजनको दुःखमा साथ रहेको र घाइतेको शीघ्र स्वास्थलाभको कामना गर्छ ।’ युरोपेली संघका कार्यकारी आयोग प्रमुख ज्या-क्लाउडर जंकरले भनेका छन्, ‘यो भयावह र दुःखद् बम विस्फोटप्रति खेद प्रकट गर्दछु । ‘ 

तीन खाडी मुलुकले पनि आक्रमणको निन्दा गरेका छन् । बहराइन, कतार र संयुक्त अरब इमिरेट्सले विदेश मन्त्रालयमार्फत विज्ञप्ति जारी गर्दै आक्रमणको भर्त्सना गरेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयब एर्दोआनले श्रीलंकामा भएको आक्रमणको निन्दा गर्दै यसलाई ‘सम्पूर्ण मानवतामाथिको हमला’ भनी प्रतिक्रिया दिएका छन् । क्रिस्चयन समुदायका धर्मगुरु पोपले चर्चमा इस्टर पर्व मनाइरहेका धर्मावलम्बीलाई लक्षित आक्रमणको घोर भर्त्सना गर्दै घटनामा मारिएकाप्रति प्रार्थनासभा गर्न आग्रह गरेका छन् । 

कोलम्बोका आर्कवाइसफ म्यालकोल्म रन्जिथले पीडितलाई सहयोग गर्न सर्वसाधारणलाई अपिल गरेका छन् । उनले आफ्नो अपिलमा मुलुकका सबै चिकित्सकलाई बिदामा नबस्न आग्रह गर्दै सर्वसाधारणलाई रक्तदान गर्न अनुरोधसमेत गरेका छन् । आर्कबिसपकै मिसेलले आक्रमणको भर्त्सना गर्दै टवीट गरेका छन्, ‘इस्टरका अवसरमा प्रेमको उत्सव मनाइरहेकै दिन यस्तो घृणा किन ? हामी श्रीलंकामा मारिएकाको परिवारसँगै उभिएका छौं ।’ 

यसैगरी श्रीलंकाको मुस्लिम काउन्सिलले आक्रमणप्रति खेद जनाउँदै सर्वसाधारणमा धैर्यधारण गर्न आग्रह गर्दै विज्ञप्ति जारी गरेका छन् । ‘आततायी आक्रमणले निर्दोषको ज्यान लिएकामा हामी शोकमा डुबेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘हिंस्रक तत्त्वहरूले मुलुकको धार्मिक र जातीय समूहमा विभाजन ल्याउनका लागि यो आक्रमण गरेको हुनुपर्छ ।’ 

श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रका नाममा सम्बोधन गर्दै देशवासीलाई शान्त रहन अपिल गरेका छन् । उनले साम्बोधन क्रममा कायरतापूर्वक गरिएको आक्रमणका दोषीलाई पक्राउ गरी कानुनी कठघरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले आतंकवादी हमलाका कारण राष्ट्र शोकको घडीमा रहेको बताउँदै सबैलाई धैर्यधारण गर्न, घाइतेको उपचारमा विशेष ध्यान दिन तथा आक्रमणकारीको खोजीमा सरकारी सुरक्षाफौज सक्रिय रहने बताएका छन् । सन् २०१२ को जनजणनाअनुसार २ करोड २० लाख जनसंख्यामध्ये ७० प्रतिशत बौद्ध, १२.६ प्रतिशत हिन्दु, ९.७ प्रतिशत मुस्लिम र ७.६ प्रतिशत क्रिस्चियन रहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *