जनप्रतिनिधिले नै हडपे अशक्त महिलाको ३२ कट्ठा जग्गा

काठमाडौं, १७ वैशाख । रुपन्देहीको मर्चवारमा वडाध्यक्षले नै सर्वसाधारणको जग्गा झुक्याएर हडपेको खुलासा भएको छ । रुपन्देहीको कोटहीमाई–४ वडाध्यक्ष ओमप्रकाश पाण्डेयसमेतको मिलेमतोमा सातजनाले कमलावती पालको ३२ कट्ठा सात धुर जग्गा झुक्याएर आफ्नो नाममा सारेका छन् । ४९ वर्षीया पाल बोल्न र हिँड्न सक्दिनन् । वडाध्यक्ष पाण्डेयले पालको जग्गा आफ्नै छोरा राजेश पाण्डेयसहित सातजनाको नाममा सारिदिएका छन् । आमाको नामको जग्गा छोराको नाममा गराउने भनी कमलावतीलाई कार्यालयमा लगेर वडाध्यक्षले आफ्नै छोराको नाममा जग्गा नामसारी गरिदिएको कमलावतीका छोरा सुभाष लोनियाले बताए । मालपोत कार्यालय मझगवाको १४ चैत ०७५ को रजिस्ट्रेसन नम्बर १८६९ को विवरणअनुसार कमलावती पालको जग्गा कित्ता नम्बर ७० र ७९ को ५ कट्ठा १२ धुर विश्वनाथ पालको नाममा सारिएको छ । 

त्यस्तै, रजिस्ट्रेसन नम्बर १८४६ अनुसार कित्ता नम्बर ४३३ र ४३४ को पाँच कट्ठा नौ धुर प्रेमकुमार यादवको नाममा, रजिस्ट्रेसन नम्बर १८६७ अनुसार कित्ता नम्बर ६२१ को ३ कट्ठा १४ धुर जीतबहादुर यादव र रजिस्ट्रेसन नम्बर १८४५ अनुसार वडाध्यक्ष ओमप्रकाश पाण्डेयको छोरा राजेश पाण्डेयको नाममा कित्ता नम्बर २८४, २८७ र ९१३ को पाँच कट्ठा ११ धुर जग्गा नामसारी गरिएको छ । रजिस्ट्रेसन नम्बर १८७० अनुसार सुमावती पालको नाममा कित्ता नम्बर ६८५,४२०,३५ र १६८ गरी ६ कट्ठा १ धुर र २०७५ चैत १५ गते रजिस्ट्रेसन नम्बर १८५४ अनुसार सूर्यनाथ अहिरको नाममा कित्ता नम्बर ५०५, ३५१ र ५९३ गरी पाँच कट्ठा १९ धुर जग्गा नामसारी गरिएको फेला परेको छ । त्यसरी जग्गा हडप्नेमध्ये कोटहीमाई गाउँपालिका–४ का सहसचिव रामनाथ यादवकी श्रीमती परमिला यादव पनि छिन् । पीडितले ९ वैशाखमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा निवेदन दिएपछि परमिला यादवले १० वैशाखमा जग्गा फिर्ता गरेकी छिन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले १० वैशाखमा इलाका प्रहरी कार्यालय मझगावा रुपन्देहीलाई पत्र काटेर १५ वैशाखभित्र सातैजनालाई उपस्थित गराउन भनेको थियो । तर, उनीहरू समयमा उपस्थित नभएपछि प्रशासनले पुनः पत्र काटेको छ । वडाध्यक्ष पाण्डेयले भने आफ्नो स्वास्थ्य अवस्था ठीक नभएका कारण रुपन्देहीमा उपस्थित हुन नसकेको बताए । आजको नयाँ पत्रिकामा दीपेश पछाईले लेखेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 2 =