प्रिमियर लिग: आर्सनल वुल्भससँग पराजित, गुमायो चौथो स्थानमा पुग्ने मौका


एजेन्सी । आर्सनल इंग्लिस प्रिमियर लिग फुटबलमा वुल्भससँग पराजित भएको छ । बुधबार राति भएको खेलमा आर्सनल ३-१ ले पराजित भएको हो । हारसँगै आर्सनलले चौथो स्थानमा पुग्ने महत्वपूर्ण मौका गुमाएको छ ।
आर्सनलले तीनवटै गोल पहिलो हाफमा खाएको थियो । दोस्रो हाफको अन्तिम समयतिर आर्सनलले एक गोल फर्कायो । वुल्भसले २८ औं मिनेटमै अग्रता लिएको थियो । रुवेन नेवेसले फ्रिकिकलाई गोलमा परिणत गर्दै वुल्भसलाई सुरुवाती अग्रता दिलाएका थिए ।
null
खेलको ३७ औं मिनेटमा म्याट डोहेर्टी र पहिलो हाफको इन्जुरी समयमा डिओगो जोटाले अरु एक एक गोल थपेका थिए । आर्सनलका लागि सोक्राटिसले ८० औं मिनेटमा एक गोल फर्काए । आर्सनलले गोल गर्ने महत्वपूर्ण अवसरहरु खेर फालेको थियो ।
जितसँगै वुल्भस ३५ खेलबाट ५१ अंक बटुल्दै सातौं स्थानमा उक्लिएको छ । ३५ खेल खेलेको आर्सनल ६६ अंकसहित पाँचौं स्थानमा छ । चौथो स्थानमा रहेको चेल्सीको ६७ र छैटौं स्थानको म्यानचेस्टर युनाइटेडको ६४ अंक छ । म्यानचेष्टर सिटी ८९ अंकसहित पहिलो स्थानमा छ ।
