मुख्यमन्त्री राउतले प्रधानमन्त्रीलाई गरे राष्ट्रिय शोक घोषणा गर्न आग्रह

जनकपुरधाम, १८ चैत्र । प्रदेश दुई सरकारले भीषण हावाहुरीका कारण ठूलो जनधानको क्षति भएको भन्दै केन्द्र सरकारलाई राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गरेको छ । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर यस्तो आग्रह गरेका हुन् ।
आइतबार राति आएको हावाहुरीका कारण बारा र पर्सामा गरी अहिलेसम्म ३५ जनाको मृत्यु भएको र सयौं नागरिक घाइते भएकोले प्रदेश दुईसँगै सिंगो राष्ट्र दुःखमा परेको परिस्थितीमा राष्ट्रिय शोक घोषणा गर्न मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।
null
प्रदेश सरकारले उद्धार जारी राखेको जनाएको छ । साथै सहयोगका लागि सबैमा अपिल पनि गरेको छ । मृतकका परिवारलाई तत्काल राहत स्वरुप तीन लाख रुपैयाँ दिने र घाइतेको सम्पूर्ण उपचार खर्च प्रदेश सरकारले बेहोर्ने निर्णय समेत गरेको छ ।
आइतबार वर्षासँगै आएको हावाहुरीकारण ५०० भन्दा बढी मानिस घाइते छन् । घरमाथिको विद्युतको पोल, रुख ढलेर र चल्दै गरेको बस दुर्घटना भएर उनीहरुको मृत्यु भएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।








