चन्द्रागिरी गोल्ड कप: आज उद्घाटन खेलमा त्रिभुवन आर्मी र जाउलाखेलबीच प्रतिस्पर्धा

चन्द्रागिरी, १५ वैशाख । दोस्रो संस्करणको चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिता आइतबारबाट सुरु हुने भएको छ । आयोजक दीपशिखा युवा समूहले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता वैशाख १६ देखि २२ गतेसम्म एडिभिजन फुटबल प्रतियोगिता संचालन हुने जनाएको छ । काठमाडौंको नैकापस्थित नैकाप खेल मैदानमा हुने प्रतियोगितामा २ विभागीय र एक आयोजकसहित ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।आयोजक दीपशिखा युवा समूहका अध्यक्ष तथा प्रतियोगिताका संयाेजक रवि वुढाथाेकीले प्रतियोगितालाई रोज बहिनी सृजनशील समाजले मुख्य प्रायोजन गरेको बताए । सम्झौतामा क्लबका अध्यक्ष रवि बुढाथोकी र रोज बसिहनीका संरक्षक माधव प्रसाद भण्डारीले हस्ताक्षर गरेका हुन् । प्रायोजनबापत नव बहिनीले प्रतियोगितालाई १० लाख रुपैया हस्तान्तरण गर्नेछ । यस्तै चन्द्रागिरी नगरपालिकाले ६ लाख रुपैया सहयोग गरेको छ । गोल्डकपको कुल बजेट करिव ४५ लाख रुपैया रहेको छ ।समुहका अध्यक्ष बुढाथोकीका अनुसार प्रतियोगितामा ‘ए’ डिभिजनसहित ८ टोलीको सहभागिता रहेको छ । सहभागी ८ टोलीलाई दुई समुहमा विभाजन गरिएको छ । प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी क्लब र एपीएफसँगै जाउलाखेल युथ क्लब, आयोजक दीपशिखा युवा समुह, सरस्वती युथ क्लब, फ्रेन्डस् क्लब, वीरगन्ज युनाइटेड र च्यासल युथ क्लबको सहभागिता रहेको छ ।उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र जाउलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । पुर्व राष्ट्रिय खेलाडी रमेश बुढाथोकीले चन्द्रागिरी गोल्डकप चन्द्रागिरी नगरपालिकाको सबैको गोल्डकप बनाउने उद्देश्य रहेको बताए । उनले अघिल्लो वर्ष ब्राइट युथ क्लबले आयोजना गरेको र यो वर्ष दीपशिखा युवा समूहले आयोजना गर्न लागेको बताउदै चन्द्रागिरी गोल्डकप आयोजना गर्न चन्द्रागिरी नगरपालिका भित्रका सबै क्लबलाई खुल्ला रहेको बताए । यस्तो हुन सके चन्द्रागिरी गोल्डकप एउटै क्लबको मात्रै नभई सम्पुर्ण चन्द्रागिरी नगरपालिकाको हुने संयोजक बुढाथोकीले थपे । प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले बताएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार रुपैयाँ पाउनेछन् । यस्तै हरेक खेलको म्यान अफ द म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।








