भू–माफिया र जग्गा दलालहरु सलबलाएः संयोजक सापकोटा

 

चैत २७, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको उपसमितिका संयोजक अग्निप्रसाद सापकोटाले तारागाउँ रिजेन्सी होटल्स् छानविनको क्रममा आफूलाई ठूलो दबाब आएपनि प्रभावमा नपरी प्रतिवेदन तयार पारेको स्पष्ट पारेका छन् । 

बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता सापकोटाले यस्तो बताएका हुन् । उनले भने,‘तारागाउँ रिजेन्सी होटल्सलाई हक हस्तान्तरण गरी दिएको एक सय ५० रोपनी जग्गा सरकारको स्वामित्वमा ल्याउन निर्देशन दिएका छौं । हामीले सरकार र अख्तियारलाई सहयोग पुग्ने गरि नै प्रतिवेदन ल्याएका छौं ।’ 

null

नेता सापकोटाले यो प्रकरणको उजागरणसँगै मुलकमा बहु–आयामिक भ्रष्टाचारको रहस्योद्धघाट्न भएको सुनाए । उनले भने, ‘अहिले हाम्रो देशमा बहु–आयामिक भ्रष्टाचार व्याप्त रहेको छ भन्ने कुरा उजागर भएको छ । एकपछि अर्को गरेर भ्रष्टाचार र अनियमितताका कुरा बाहिर आएका छन् ।’ 

प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख निवासकै जग्गा व्यक्तिको नाममा दर्ता भएको कुरा बाहिर आएको सुनाउँदै यो लज्जाको विषय भएको उनले बताए । उनले भने, ‘भू–माफिया र जग्गा दलालहरु सलबलाए, यो त दुःखको कुरा हो । मुलुक अहिले भ्रष्टाचारको सिकञ्जामा परेको छ ।’ 

उनले आफूहरुले तारागाउँ होटेलकै सवालमा पनि सत्यको अन्वेषण गरेको सुनाए । उनले भने, ‘भ्रष्टाचारको नियन्त्रण गर्नुपर्छ । राष्ट्रको सम्पत्ति हिनामिना गर्नेलाई कठघरामा ल्याउनुपर्छ ।’ 

तत्कालीन तारागाउँ विकास समितिका नाममा रहेको जग्गा सरकारको स्वामित्वमा ल्याउन सुझावसहितको प्रतिवेदन आफूहरुले बुझाईसकेकोले अब सरकारले सोहीअनुसार काम गर्नुपर्ने उनले स्पष्ट पारे । 

उनले भने, ‘ह्यात होटेल व्यवस्थित् छ, होटेलको सम्पत्ति दिनदिनै बढिरहेको छ । तर, सरकारको सम्पत्ति घट्दैछ । ३०४ रोपनी जग्गा क्षतविक्षत बनाइएको छ ।’ 

उनले लिज सम्झौतापनि गैरकानूनी ढंगले गरेको पाएपछि त्यो रद्द गर्न आफूहरुले निर्देशन दिइसकेको स्पष्ट पारे । उनले भने, ‘समग्र प्रक्रियामा प्रपञ्च मिलाइएको रहेछ । दिमाग चकराउने कागजपत्र मिलाईएको रहेछ । लिज सम्झौतापनि नेपालीमा एक खालको छ, अनि अंग्रेजीमा अर्कै खालको छ ।’ हरेक कुरामा कर्पोरेट शैलीमा जालझेल र छलछाम गरिएको उनले जिकिर गरे । 

आफूहरुले १४ बुँदे निर्देशन दिएको पनि उनले सुनाए । तीमध्ये ८ वटा बुँदामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएको उनले स्पष्ट पारे । उनले भने, ‘हामीले पर्यटन मन्त्रालयले के गर्ने ? भूमि सुधार मन्त्रालयले के गर्ने र अर्थ मन्त्रायलयले के गर्ने भन्नेबारे क्याटेगोरी नै छुट्टाएर निर्देशन दिएका छौं ।’ 

छानबिनको क्रममा आवश्यक कागजपत्र माग्दा अर्थमन्त्रालयले यो धेरै वर्ष पूरानो कुरा हो र यसको अभिलेख भेटिएन भनेर जवाफ दिएको भन्दै उनले गुनासो पोखे । उनले भने, ‘हाम्रो सरकारी निकाय जिम्मेवार छैनन् भन्ने कुरा यसले देखाएको छ ।’ 

भू–माफियाहरुले मालपोत कार्यालयका अधिकारी, कम्पनी रजिष्ट्रारका पदाधिकारी, सरकारी प्रतिनिधिहरुलाई प्रभावमा पारेर सरकारी सम्पत्ति हडप्नेगरि ठूला–ठूला निर्णय गर्न सफल भएको भन्दै उनले त्यसतर्फ राज्यको विशेष ध्यान जान जरुरी रहेको सुनाए । 

उनले भने, ‘होटेल ह्यात रेजेन्सी तालुकको अड्डा र तारा गाउँ विकास समिति चाहीँ त्यसको अंग जस्तो गरि कतिपय सम्झौता भएका छन् । यो देखेर अचम्म लाग्यो । यो त प्रतिनिधि घट्नामात्रै हो । पोखराको सरकारी जग्गाको कुरा थाहा पाईहाल्नु भएको छ । नेपालगञ्जको त्यस्तै छ । जताततै भ्रष्टाचारले गाँजेको छ ।’ 

शारदा प्रसाद त्रिताल आयोग र आफूहरुको उपसमितिले सरकार र अख्तियारलाई नै सहयोग पुग्नेगरि प्रतिवेदन बाहिर ल्याएको उनको जिकिर छ । उनले भने, ‘सरकारले अब धमाधम कारबाही गर्नुपर्छ । र, जतालाई जानकारी गराउनुपर्छ ।’ आफू नेतृत्वको उपसमितिले समितिका नाममा विभिन्न स्थानमा रहेको सम्पत्तिको संरक्षण र सदुपयोगको सन्दर्भमा अध्ययन, अवलोकन भ्रमण तथा सम्बद्ध निकाय एवं पक्षबाट प्राप्त भएका कागजातका आधारमा निष्कर्ष निकालेको सापकोटाको भनाई छ । 

उनले आफूहरुले प्रतिवेदनमात्रै नबुझाएर समाधानको उपायपनि सुझाएको स्पष्ट पारे । फरक प्रसँगमा उनले आफूलाई यो प्रकरणमा दबाब पनि आएको सनसनीपूर्ण खुलासा गरे । उनले भने, ‘पूर्व भूमिसुधार मन्त्री जितु गौतममार्फत् मलाई दिनेशलाल श्रेष्ठले भेट्न खोजेको प्रस्ताव आएको थियो । मैले उपसमितिमा आउनुहोस् म बैठकको व्यवस्था गरिदिन्छु भनेँ । तर, पछि उहाँहरु आउनुभएन ।’ 

बडे–बडे शक्ति केन्द्रबाट पनि आफूलाई प्रभाव पार्नको लागि दबाब आएको उनले जिकिर गरे । उनले भने,‘कसैले परिवारमार्फत नै दबाब दिए । कसैले शक्तिकेन्द्रमार्फत दबाब दिए । कसैले त यिनीहरुको ठूलो पहुँच छ, देश तथा विदेशमा पहुँच छ भनेर पनि भने । तर, हामी कसैको प्रभाव र दबाबमा परेनौं । देशको हितमा काम गर्यौं । हामीले आग्रह र पूर्वाग्रहमा राखेर छानबिनमा हात हालेका हैनौं ।’ 

देशलाई केन्द्रमा राखेर र तथ्यमा आधारित भएर सत्य खोज्ने प्रयास गरेको र सोहीअनुसार यो प्रकरणबारे प्रतिवेदन तयार पारेको उनको भनाइ छ । 

फरक प्रसँगमा उनले पार्टी एकता पनि चाँडै टुंगो लाग्ने विश्वास दिलाए । उनले भने, ‘पार्टी एकता विलम्ब भएको छ । हुनै नहुने कुरा भयो । तल्लो तहसम्म एकता नहुँदा ठूलो नोक्सानी भएको छ ।’ अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुवैले पार्टी एकताको लागि विलम्ब भएको स्वीकार गरेको पनि उनले सुनाए । आगामी बैशाख ९ गते लेनिन दिवस परेकोले त्यही दिन एकता टुंगाे लाग्ने पनि उनले दाबी गरे । 

भुकम्पका कारण बन्द रहेको तातोपानी नाका खुलाउन आफू सुरुदेखि नै लागिपरेको उनले जनाए । उनले भने,‘४६ महिना भयो, यो नाका बन्द भएको छ । अब यसलाई सुचारु गर्नुपर्छ ।’ तातोपानी नाका हरेक हिसाबले बहुआयामिक महत्वको भएकोले यसलाई चाँडै सुचारू गराउन आफू लागिपरेको उनको भनाइ थियो । 

सापकोटाले भने, ‘तत्कालिन प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा जाँदा उहाँले चिनियाँ राष्ट्रपतिसँगपनि यो नाका खुलाउनको लागि प्रयत्न गर्नुभएको थियो । त्यतिवबेला चिनियाँ राष्ट्रपतिले यो नाकाको बारेमा विशेष चासो देखाउनुभएको थियो । किनकी उहाँ बाल्यकालमा ल्हासामा बस्नुभएको रहेछ । उहाँलाई तातोपानीको बारेमा थाहा रहेछ । उहाँले यसमा मेरोपनि भावना जोडिएको छ भनेर भन्नुभएको थियो ।’ 

नाका खोल्नको चीनतर्फबाट युद्धस्तरमा काम भैरहेको तर नेपालतर्फबाट भने सुस्त गतिमा काम भएको उनको गुनासो छ । हिजोमात्रै आफूहरु मन्त्रीसहितको टोली लिएर स्थलगत भ्रमणमा गएको पनि उनले सुनाए । चिनियाँ प्रतिनिधिहरुले पनि तोकिएकै समयमा नाका खुल्ने विश्वास दिलाएको उनले जनाए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *